२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने

२४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि आयोजना तय भएसँगै करिब दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने भएको छ।

नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व च्याम्पियनसिप र एसियाडलाई मध्यनजर गर्दै २४औं खुला तथा उमेरसमूह पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो। दुई वर्षपछि नेपालमा पौडीका प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१९ पछि संघले कुनै पनि राष्ट्रिय प्रतियोगिता आयोजना गरेको छैन। विश्वभर कोभिड–१९ को महामारीका कारण दुई वर्षयता राष्ट्रिय प्रतियोगिता गर्न नसकिएको संघले जनाएको छ।

यसपटक ठूला अन्तर्राष्ट्रिय आयोजनाका लागि छनोट गर्नुपर्ने भएकाले संघले प्रतियोगिता गर्न लागेको हो।बुढापेस्टमा हुने १९औं विश्व पौडी च्याम्पियनसिप र चीनमा हुने १९औं एसियाडमा नेपाली खेलाडीको छनोटका लागि संघले यो प्रतियोगिता गर्दै छ। प्रतियोगिता वैशाख २२ र २३ गरी दुई दिनसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरीमा सञ्चालन हुनेछ। कुल १ सय ५० पुरुष तथा महिला खेलाडीले २३ विधामा प्रतिस्पर्धा गर्नेछन्। चीनमा हुने एसियाडलाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक जगतमान श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले यस प्रतियोगिता १९औं एसियाडका लागि पहिलो चरणको छनोट समेत रहेको उल्लेख गरे। संघका अध्यक्ष अशोक वज्राचार्यले एसियाडका लागि दुई ओलम्पियनसहित १८ खेलाडीको नाम पठाइसके पनि एसियाडका लागि राष्ट्रिय खेलकुद अनिवार्य खेल्नुपर्ने बताए। उनले एसियाडका लागि सम्भावित इभेन्ट्समा फिनाको अंकको आधारमा पनि खेलाडी छनोट हुने बताए।

प्रकाशित: १६ वैशाख २०७९ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App