२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

मासेडोनिया विश्वकप सपना नजिक

नर्थ मासेडोनिया विश्वकप फुटबल छनोट सपना साकार पार्नबाट मात्र ९० मिनेट टाढा छ। कतार विश्वकप छनोट २०२२ को प्लेअफ सेमिफाइनलमा युरोपियन च्याम्पियसिप २०२० को विजेता तथा चार पटकको विश्व विजेता इटालीलाई इन्जुरी समयमा स्तब्ध पारेको मासेडोनिया मंगलबार प्लेअफ सेमिफाइलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको सामना गर्दा त्यस्तै नतिजा चाहन्छ।

मासेडोनियाले अहिलेसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन। ‘यो हाम्रा लागि सबैभन्दा कठिन तर सबैभन्दा रोमाञ्चक खेल हो,’ मासेडोनियाका मिडफिल्डर इलिफ इल्मासले भने, ‘हामी विश्वकप सपना साकार पार्न मात्र ९० मिनेट पर छौं। यो हाम्रो मात्र नभई समग्र राष्ट्रको नै सपना हो। हामीलाई यो अवसर गुमाउन हुँदैन भन्ने थाहा छ। कतारको टिकट काट्न हामी पोर्चुगलविरुद्ध बलियो रूपमा मैदान उत्रनुपर्छ।’

मासेडोनिया लगातार चार अवे खेलमा जित हात पार्ने लक्ष्यमा छ। पोर्चुगल भने कप्तान रोनाल्डोको उपस्थितिमा विश्वकप छनोटको शतप्रतिशत यात्रालाई निरन्तरता दिन चाहन्छ। विश्वका सर्वकालीन गोलकर्ता रहेका ३७ वर्षे रोनाल्डोको यो विश्वकप जित्ने सम्भवतः अन्तिम अवसर पनि हुन सक्छ।

सन् २०१६ मा रोनाल्डोकै कप्तानीमा आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो। तर उनको टोलीले सन् २०१८ को रूस विश्वकपमा भने उपाधि सपना साकार पर्न सकेन।

‘हामीले विश्व फुटबलको महारथी इटालीलाई हरायौँ, तर विश्वकप सपना साकार पार्न हामी अझै एक कदम पछि छौं। आशा छ, हामी मंगलबारको खेल जित्छौं होला,’ मासेडोनियाका विंगर इज्घान एलयोस्कीले भने, ‘हामी पोर्चुगलविरुद्ध पनि स्वाभाविक प्रदर्शन गर्छाैैं। रोनाल्डोको आक्रमण रोक्न हामी सक्षम छौँ।’ यसअघि यी दुई टोली एक पटक मात्र आमनेसामने भएका छन्। सन् २०१२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मासेडोनिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका थिए।

त्यसयता यी दुई टोलीबीच भेट हुन लागेको यो पहिलो अवसर हो। गत साता इटालीलाई स्तब्ध पारेसँगै मासेडोनियाको राजधानी स्कोप्जी अहिले फुटबलमय बनेको छ। ‘पोर्चुगल विश्व फुटबलकै उत्कृष्ट टोली हो, जहाँ विश्वका उत्कृष्ट खेलाडी रोनाल्डो छन्। मासेडोनियाले कठिन चुनौती पार गर्नुपर्नेछ,’ स्कोप्जीका स्थानीय बासिन्दा बोबान एल्जेभ्स्कीले भने, ‘हामी मासेडोनियाले जित निकाल्दै कतार विश्वकप २०२२ मा प्रतिस्पर्धा गरेको हेर्न चाहन्छौं।’

प्रकाशित: १५ चैत्र २०७८ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App