२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

सिटीको संघर्षपूर्ण जित

प्रिमियर लिग फुटबलअन्तर्गत गोडिसन पार्कमा भएको खेलमा भ्रमणकारी टोली म्यानचेस्टर सिटीले एभर्टनमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्दै ६ अंकको अग्रता निकाल्दा अर्को खेलमा म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ।

अक्टोवरपछि पहिलो पटक टोटेनह्यामसँग पराजित भएको सिटीले सम्हालिएको प्रदर्शन गरेर एभर्टनमाथि शनिबार रोमाञ्चक जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अग्रता बढाएको हो। पेप ग्वार्डिओलाको टोलीले सुरुआतबाट आक्रामक खेल खेले पनि फिल फोडेनले खेल सकिन ९ मिनेट बाँकी रहेको अवस्थामा गरेको गोल निर्णायक भएपछि स्पष्ट तीन अंक जोड्न सफल भएको हो।

उता पछि परेको अवस्थामा एभर्टनले रोड्रिकोको ह्यान्डबलको जोडदार अपिल गरे रेफ्रीले उक्त अपिललाई भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा अस्वीकार गरेका थिए। उक्त विषयलाई लिएर एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रतिस्पर्धात्मक खेलमा यस्तो निर्णय टोलीका लागि निकै घातक हुने बताए।

‘निर्णय निकै अफसोचपूर्ण रह्यो,’ एभर्टन प्रशिक्षक फ्रान्क लम्पार्डले भने, ‘खेलमा कुनै गल्ती भइहालेको अवस्थामा सम्बोधन नहुनुले निकै पीडा दिन्छ। सोही घटना सोचमा आइरहन्छ। भिएरआरको सहयोग लिएर निर्णय लिए पनि अन्योल भएको अवस्थामा रेफ्रीले के भयो भन्ने विषयमा प्रस्ट पार्नुपर्छ।’ यद्यपि प्रशिक्षक लाम्पार्डले टोलीले शीर्ष टोलीविरुद्ध गरेको प्रदर्शनलाई मुक्तकण्ठले प्रशंसा गरे।

खराब नतिजापछि सिजनको मध्यमा एभर्टनमा अनुबन्धित भएका लाम्पार्डको टोली अहिले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि छ। एभर्टनले २४ खेलबाट २२ अंक बनाएको छ। रेलिगेसन क्षेत्रमा रहेको बर्नलीको २१ अंक छ। शनिबारै भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खैल्दै अंक बाँडेको थियो। बर्नलीले क्रिस्टल प्यालेसको मैदानमा उपहार गोलबाट अंक बाँडेको हो।

उता संघर्षपूर्ण जित निकालेको लिग लिडर म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विपक्षीले अपनाएको रक्षात्मक रणनीतिलाई विफल पार्दा सामान्य गल्तीमा टोलीका लागि तीन अंक खोस्ने अवसर मिलेको बताए।

‘आजको खेलमा तीन अंक निकै महत्त्वपूर्ण थियो। कुनै पनि हालतमा हामीलाई अंक लिनु थियो। जुन जसरी भए पनि सम्भव भयो,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘पहिलो हाफमा दबाबमा रहेर खेले पनि दोस्रो हाफमा हामीले सम्हालिएको प्रदर्शन गर्न सक्यौं। पहिलो हाफको तुलनामा दोस्रो हाफमा हामीले राम्रो खेल्न सक्यौं।’

प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको वाट्फोर्डसँग गोलरहित बराबरीमा रोकियो। प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोको जादु पनि चल्न सकेन। युनाइटेडको घरेलु मैदानमा अधिकांश समय दबाब दिएर खेले पनि गोल गर्न भने असफल रहेको थियो।

अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनको घरेलु मैदानमा २–० को सहज जित निकाल्दा न्युक्यासल युनाइटेडको पनि सोही नतिजा निस्कियो।

११औं मिनेटमा १० खेलाडीमा सीमित भएको ब्रेन्टफोर्डमाथि उसैको मैदानमा २–० को जित निकाल्दा न्युक्यासलका जोइलिन्टले ३३औं र जो विललकले ४४औं मिनेटमा टोलीका लागि दोस्रो गोल थपेका थिए। यस्तै टोटेनह्यामले लिड्स युनाइटेडमाथि उसैको मैदानमा ४ गोलको वर्षा गर्दा लिड्सले भने अन्तर घटाउन सकेन।

प्रकाशित: १६ फाल्गुन २०७८ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App