८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिगका बाँकी खेल शुक्रबारबाटः रेलिगेसन डरमा खेल्दै फ्रेन्ड्स

सहिद स्मारक ‘ए’ डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुचारु हुँदै गर्दा लिगको पुछारमा रहेको फ्रेन्ड्सले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दै छ।

जारी लिगमा दुवै टोली रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन्। दुवै टोली शुक्रबार आमनेसामने हुँदा दुवै टोली रेलिगेसन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछन्।

तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले नवौं चरणका खेल सकिँदासम्म कुनै पनि खेलमा स्पष्ट जित निकाल्न सकेको छैन्। सोही कारण फ्रेन्ड्स रेलिगेसनबाट सशंकित हुँदै छ। बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले जितका लागि खेल्ने बताएका छन्। तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भएजस्तै आफ्नो टोलीलाई रेलिगेसनबाट बच्न तीन अंक आवश्यक भएको बताए।

नत्र टोलीलाई रेलिगेसन क्षेत्रबाट बच्न गणितीय सम्भावना मात्र रहने प्रशिक्षक मिश्रले बताए। ‘कोरोनालाई भ्याक्सिन चाहिएजस्तो हामीलाई दशौं चरणको खेलमा स्पष्ट जितको खाँचो छ। हामीले ९९ प्रतिशत जितको लक्ष्य राखेर ब्रिगेड ब्वाइजसँग खेल्ने हो,’ फ्रेन्ड्सका प्रशिक्षक मिश्रले भने, ‘जित निकालेनौं भने हाम्रा लागि लिग टाढा हुनेछ। रेलिगेसन लगभग हुन्छ, गणितीय सम्भावना मात्र रहनेछ।’

यस्तै रेलिगेसन क्षेत्रभन्दा एक स्थान मात्र माथि रहेको ब्रिगेड ब्वाइजले रेलिगेसन क्षेत्र टार्न फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ। किनभने ब्रिगेडलाई पनि रेलिगेसन टार्न निकै संघर्ष गर्नु परिरहेको छ।

फ्रेन्ड्सले ९ खेलबाट ३ अंक मात्र जोड्दा ब्रिगेड ब्वाइज समान ९ खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ। सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समीर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जितबाहेकको विकल्प नभएको बताए।

‘फ्रेन्ड्सविरुद्ध हामीलाई गर या मरको खेल हुनेछ। यो हामीलाई फाइनलजत्तिकै महŒवपूर्ण हो,’ ब्रिगेडका प्रशिक्षक विष्टले भने, ‘बीच समयमा हामीले आराम पनि पाएका छौं। तयारी पनि राम्रो गरिरहेका छौं। विगतका खेलमा भएका कमीकमजोरीलाई नियाल्दै तीन अंकका लागि खेल्छौं।’

दशांै चरणअन्तगर्तको खेलमा थ्री स्टारले बलियो मनाङ मस्र्याङ्दीविरुद्ध खेल्दै छ। जसलाई यस चरणको आकर्षक खेलका रूपमा हेरिएको छ। थ्री स्टारले अघिल्लो खेलमा संकटालाई पराजित गरेर तालिकामा सुधार गरेको लयलाई मनाङविरुद्ध पनि कायम गर्न चाहन्छ। चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए।

अघिल्ला संस्करणमा मनाङलाई हराउँदै इतिहास बनाएकाले तीन अंक खोस्नका लागि मनाङविरुद्ध खेल्ने बताए। ‘हामीले तयारी राम्रो गरेका छौं। बीचमा केही आरामको समय भएकाले टोलीले सुखद नतिजाका लागि खेल्दै छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘थ्री स्टार र मनाङ आपसमा भिड्दा दुवैको खेल प्रतिस्पर्धात्मक हुन्छ। अघिल्ला संस्करणमा धेरै पटक मनाङलाई हराएका छौं। सोही अवस्थाको फाइदा उठाउँदै मनाङविरुद्ध अंक खोस्ने लक्ष्य लिएका छौं।’

दशौं चरणको लिगमा शीर्ष स्थानको मच्छिन्द्रले च्यासल युथ क्लबसँग खेल्दै छ। मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग अग्रता तीन अंकभन्दा बढी मिल्दा उपाधिहोडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताए। उता शीर्ष तीनमा अटाउने लक्ष्यसहित खेलिरहेको त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेलविरुद्ध खेल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

लिगमा नवाैँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ। मनाङभन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा रहँदा १६ अंक जोडेको थ्री स्टार चौथो र १४ अंक जोडेको संकटा पाँचाैँ स्थानमा छन्।

प्रकाशित: २८ माघ २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App