११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

जापानसँग चीन स्तब्ध

विश्वकप छनोटअन्तर्गत बिहीबारको खेलमा जापानले चीनलाई २–० ले हराउँदा अर्को खेलमा अस्ट्रेलियाले भ्रमणकारी टोली भियतनामलाई ४–० को फराकिलो अन्तरको हार चखाएको छ।

समूह ‘बी’ अन्तर्गत तेस्रो चरणको खेलमा जापानले चीनलाई २–० ले पराजित गरेको हो । साइतामा स्टेडियममा घरेलु टोली जापानको जितमा युया ओसाको र जुन्या इतोले गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा जापानले १३औं मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो। युया ओसाकोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफको ६१औं मिनेटमा जुन्या इतोले गोल थप्दै अग्रता दोब्बर बनाएसँगै जित निश्चित भएको थियो। जितसँगै जापान समूह ‘बी’ मा ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ।

पराजित चीन ५ अंक जोडेर पाँचाैँ स्थानमा छ। यही समूहमा साउदी अरेबिया ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा रहँदा ओमान ६ खेलबाटै ७ अंक जोडेर चौथो स्थानमा छ ।

यस्तै एसिया क्षेत्रको अर्को छनोट खेलमा अस्ट्रेलियाले घरेलु मैदानमा भियतनामलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो। अस्ट्रेलियाको जितमा जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरे। मेलबर्नमा बिहीबार घरेलु टोलीले भियतनामलाई निकै दबाबमा राखेर खेलेको थियो।

अस्ट्रेलियाले खेलको ३०औं मिनेटमा जेमी म्याकलरेनको गोलबाट सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा टोम रोजिकले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि ७२औं मिनेटमा क्रेइग गुडविनले गोल गर्दै अस्ट्रेलियालाई ३–० ले अघि बढाउँदा ७७औं मिनेटमा राइली म्याकग्रीले गोल गर्दै घरेलु टोलीको फराकिलो जित सुनिश्चित गरेका थिए। जितसँगै अस्ट्रेलिया समूह ‘बी’ मा ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पराजित भियतनाम अंकविहीन हुँदै पुछारमा छ।

प्रकाशित: १४ माघ २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App