२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै मनाङ फाइनलमा

पोखरेली दर्शकको प्रिय टिम मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आह ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङ फाइनलको यात्रा तय गर्न सफल भएको हो। प्रतिस्पर्धात्मक खेलमा पेनाल्टी गुमाउँदा मनाङले जितका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो।

मनाङले अब उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। सहारा क्लब पोखराको आयोजनामा भइरहेको आहा! रारा गोल्डकपको फाइनलमा माघ १५ गते शनिबार यी दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। ६ पटकको विजेता मनाङ आहा ! रारा गोल्डकपको फाइनलमा पुगेको यो बाह्रौं पटक हो। उपाधिविहीन एपिएफ १४ वर्षपछि दोस्रो पटक फाइनलमा पुगेको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा मनाङका फ्य्रांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए। मनाङका विश्व अधिकारी भने गोल गर्न चुके। उनले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो।

आर्मीको तर्फबाट भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गरेका थिए। आर्मीका दीपक गुरुङ र युद्ध शाहीले गोल गर्न सकेनन्। दीपकले बायाँ साइड च्यापेर हानेको प्रहार पोलमा लागेर फर्किएको थियो। युद्धले हानेको प्रहारलाई विपक्षी गोलकिपर अशोक बरालले विफल पारे। बायाँ साइड च्यापेर हानेको उक्त प्रहारलाई गोलकिपर बरालले पन्च गरेर रोके।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलको आठौं मिनेटमै मनाङले गोल गर्ने राम्रो अवसर पाएको थियो। मनाङका फरवार्ड अडेलजा सोमिडेको क्रस बललाई क्लियर गर्न खोज्दा आर्मीका युद्ध शाहीको ह्यान्ड भएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिए। जसमा मनाङका कप्तान विमल राना गोल गर्न असफल भए। उनले गरेको कडा प्रहार क्रसबारमाथिबाट बाहिरियो।

पहिलो हाफमा आक्रामक खेलेको मनाङ दोस्रो हाफदेखि भने रक्षात्मक बन्यो। दोस्रो हाफबाट आक्रामक रणनीति अपनाएको आर्मीलाई रोक्न मनाङ रक्षात्मक बनेको हो। दोस्रो हाफ र अतिरिक्त समयमा आर्मीका खेलाडीहरूले एकपछि अर्को आक्रमण जारी राखे पनि मनाङको मानवनिर्मित रक्षात्मक फलामे बार चिर्न सकेनन्।

मनाङले खेलको २०, ५२, ६७औं मिनेटमा गोल गर्ने राम्रा अवसर सिर्जना गरेको थियो। तर त्यसलाई सदुपयोग गर्न सकेन। आर्मीले भने तुलनात्मक रूपमा पहिलो हाफमा भन्दा दोस्रो हाफपछि गोल गर्ने अवसर सिर्जना गर्‍यो। आर्मीले खेलको १३, ५७, ७८, ८९, ९६, ११३औं मिनेटमा गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन।

बिहीबारको खेलमा टाइब्रेकरमा पेनाल्टी रोक्ने मनाङका गोलकिपर अशोक बराल म्यान अफ दी म्याच घोषित भए।

विजयी मनाङका प्रशिक्षक फुजा टोपेले सुरुआतमै पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा टाइब्रेकरको सहारामा जित्नुपरेको बताए। ‘पहिलो रोजाइका केही खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुनु, भएका खेलाडी पनि घाइते हुँदा जितका लागि कठिन संघर्ष गर्नुपर्‍यो,’ उनले भने। पराजित त्रिभुवन आर्मी क्लबका प्रशिक्षक राजु तामाङले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए। उनले भने,‘टफ गेममा कहिलेकाहीं यस्तो हुन्छ। सक्दो प्रयास गर्दा पनि स्कोर निस्केन, त्यो नै दुर्भाग्य भयो।’

प्रकाशित: १४ माघ २०७८ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App