८ वैशाख २०८१ शनिबार
खेल

हिमालयनलाई रोक्दै पुलिस क्वार्टरफाइनलमा

नेपाल पुलिस क्लब आहा! रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै ६ पटकको उपाधि विजेता पुलिस क्वार्टरफाइनलमा पुग्ने दोस्रो टोली बनेको हो।

शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा पनि ४/४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।

सडन डेथमा हिमालयन शेर्पा क्लबका पूर्ण गुरुङ गोल गर्न चुकेपछि पुलिसको भाग्य चम्किएको हो। यसअघि पेनाल्टी सुटआउटमा पुलिसका तीर्थ रानामगर, नीरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरेका थिए। पुलिसका कपिल ढकाल भने गोल गर्न असफल भए। उनले हानेको प्रहार बारमाथिबाट बाहिरिएको थियो।

त्यस्तै, हिमालयन शेर्पाको तर्फबाट त्रिदेव गुरुङ, आशिष गुरुङ, विश्वास श्रेष्ठ र पिस्तोल मुतुम्बाले गोल गरे। हिमालयन शेर्पाका उल्रिच सिवे गोल गर्न चुके। उनले प्रहार गरेको पेनाल्टी विपक्षी गोलकिपरले रोके। सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरे।

तर हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे पनि पूर्ण गुरुङ गोल गर्न असफल हुँदा हिमालयन शेर्पा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो।

खेलको ५३औं मिनेटमा पुलिसले अग्रता लियो। तीर्थ रानामगरले मैदानको दायाँ साइडबाट दिएको क्रसलाई नीरकुमार राईले जाली चुमाए। विपक्षी गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा उनले बायाँ साइड च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।

गोल खाएपछि केही आक्रामक बनेको हिमालयन शेर्पाले ५९औं मिनेटमा बराबरी गोल फर्कायो। शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले बराबरी गोल गरे। विपक्षीका सन्तोष हेमरनको ढाडमा लागेर फर्केको रिबाउन्ड बललाई अनमार्क रहेका उनले करिब २७ यार्ड टाढाबाट गोलमा परिणत गरे।

त्यसपछिको बाँकी समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर खेर फाले। तुलनात्मक रूपमा पुलिसभन्दा बढी आक्रामक रणनीति बनाएको हिमालयन शेर्पाको फिनिसिङ कमजोर हुँदा गोल निस्किएन। उनीहरूको बारम्बारको प्रयासमा पुलिसको रक्षात्मक टोली बाधक बन्यो। उसो त पुलिसले पनि बनाएका सुन्दर अवसरलाई सदुपयोग गर्न सकेन।

शुक्रबारको खेलमा पुलिसका रोशन खड्का म्यान अफ दी म्याच घोषित भए। उनले नगदसहित ट्रफी प्राप्त गरे।

विजयी टोलीका प्रशिक्षक अनन्त राईले विपक्षीलाई रोक्नका लागि केही रक्षात्मक खेल्दा निर्धारित समयमा गोल ननिस्केको बताए। ‘हामीलाई जसरी पनि जित्नु थियो, त्यसमा हामी सफल भयौं। यसमा म खुसी छु,’ उनले भने।

पराजित हिमालयन शेर्पा क्लबका मित्रबहादुर बस्नेतले राम्रो खेल्दाखेल्दै हार्नुपरेको बताए। ‘आज ब्याडलक थियो भन्नुपर्छ, राम्रो खेल्दाखेल्दै हार्‍यौं,’ उनले भने। शुक्रबारको विजेता नेपाल पुलिस क्लबले अब माघ ९ गते आइतबार मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतियोगिताअन्तर्गत शनिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र अमेरिकाको बिवाइएससी मिनेसोटाबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

प्रकाशित: ८ माघ २०७८ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App