२ असार २०८१ आइतबार
image/svg+xml
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगः विभागमा पहिलो विदेशी खेलाडी

विभागीय टोलीले पहिलोपटक विदेशी खेलाडी अनुबन्धित गरेको खेलमा एपिएफ फुटबल क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित दर्ता गरेको छ।

जापानी गोलकिपर युया कुरियामालाई भित्राएको दिन विभागीय टोली एपिएफले सोमबार फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको हो। उनी विभागीय टोलीबाट नेपालको घरेलु फुटबल खेल्ने पहिलो विदेशी खेलाडीसमेत हुन्।

दशरथ रंगशालामा एपिएफ फुटबल क्लबले यस सिजनमा पहिलो जित दर्ता गर्दा युयाले पनि सुखद सुरुआत गर्ने अवसर पाए। एएफसी क्लब लाइसेन्स लिने नेपालको चार क्लबमध्ये एक एपिएफ अघिल्ला खेलमा खराब नतिजाबाट गुज्रिएको थियो। तर, पाँचौं खेलमा भने एपिएफ जित निकाल्दै रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ।

एपिएफलाई जित दिलाउन आशिष लामाले दुई र बिकी तामाङले एक गोल गरे। फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए। निकै रोमाञ्चक बनेको खेलमा बिकीले ३०औं मिनेटमा गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए। कप्तान नवीन लामाको पासमा बिकीले उत्कृष्ट गोल गरे। ३२औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए। कप्तान नवीनकै पासमा आशिषले गोल गर्न सफल भए। ५६औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई सहज जिततर्फ अग्रसर गराए।

आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे। ६९औं मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल गर्दै एपिएफको अग्रता छोट्याए। एपिएफका दीपेश धिमालले पेनाल्टी क्षेत्रभित्र जमुल एन्थोनीलाई फउल गरेपछि फेन्ड्सले पेनाल्टीको अवसर पायो। त्यसपछि पनि दबाबमा खेलेको एपिएफ बाँकी समयमा थप गोलका अवसर बनाए पनि सफल हुन सकेन।

चौथो चरणसम्म कमजोर देखिएको एपिएफसँग हारपछि फेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले विपक्षीको अग्रतापश्चात् आफ्ना खेलाडीले रणनीतिअनुसार खेल्न नसकेको प्रतिक्रिया दिए। ‘हामी स्पष्ट जितका लागि मैदान उत्रिएका थियौं। रेलिगेसनमा भएकाले हामीलाई दबाब थियो। पहिलो आधा घन्टाको खेलमा हामीले केही अवसर पनि पायौं। तर, सफल हुन सकेनौं,’फ्रेन्ड्सका प्रशिक्षक मिश्रले भने, ‘२५ मिनेटपछि हाम्रो गोल भयो। तर रेफ्रीले अफसाइड दिए। त्यसपछि टोलीले राम्रो फुटबल खेल्न सकेन। सामान्य गल्तीले गोल खान पुग्याैँ र खेलको लय पनि गुमायौं।’

प्रशिक्षक मिश्रले कप्तान प्रकाश बुढाथोकी घाइते भएपछि मैदानमा टिमको नेतृत्व गर्न नसकेको र खेलाडीबीच तालमेलको अभाव पनि देखिएको उल्लेख गरे। पहिलो जित निकालेको एपिएफका प्रशिक्षक कुमार थापाले विदेशी गोलकिपरको आगमनसँगै आउँदा दिनमा राम्रो नतिजा निकाल्ने बताए। यस जितसँगै एपिएफ पाँच खेलबाट चार अंक जोड्दै ११औं स्थानमा उक्लिएको छ। फ्रेन्ड्सको भने पाँच खेलबाट दुई अंक छ। जितविहीन फ्रेन्ड्स पुछारमा झरेको छ।

एपिएफका आशिष लामा म्यान अफ दी म्याच चुनिए। इमर्जिङ प्लेयर एपिएफकै आवाश लामिछाने भए। यससँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल पनि सकिएका छन्। १३ अंक जोड्दै मनाङ मस्र्याङ्दी अंकतालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लब ११ अंक र त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा रहँदा ९ अंक छ। समान ९ नै अंक नै जोडे पनि संकटा चौथो स्थानमा खुम्चियो। लिगमा छैटौं चरणका खेल ९ गतेबाट हुनेछन्।

प्रकाशित: ६ पुस २०७८ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App