२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बंगलादेशसँग नेपालको संघर्षपूर्ण बराबरी

नेपालले साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शनिबार घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरीमा खेलेको छ।

साफ यु–१८ को च्याम्पियन बंगलादेशसँग नेपाल उसैको मैदानमा गोलरहित बराबरीमा रोकिएको हो। सन् २०१८ मा भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग नै पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

कोरोनाका कारण उक्त उमेर समूहको प्रतियोगिता पछिल्ला वर्ष स्थगित भएपछि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले यस पटकको लागि मात्र यु–१९ महिला फुटबल च्याम्पियनसिप आयोजना गरेको हो। ढाकास्थित बिएसएसएस मुस्तफा कमल स्टेडियममा गत संस्करणमा बेहोरेको हारको बदला लिने नेपालको लक्ष्यले पूर्णता पाउन सकेन।

नेपालले उल्टै खेल अवधिभर दबाब बेहोर्‍यो। तर, बलियो डिफेन्स र उत्कृष्ट गोलकिपिङका कारण नेपालले एक अंक भने प्राप्त गर्‍यो। कप्तान तथा गोलकिपर अन्जना रानामगरले केही उत्कृष्ट बचाउ गरिन्। बंगलादेशले कुल ९ पटक गोल अवसर सिर्जना गर्दा नेपालले एउटा पनि सफलता पाउन सकेन।

खेलको ८६औं मिनेटमा नेपालकी गोलकिपर अन्जनाले बंगलादेशकी सामसुन्नाहरको सशक्त प्रहार रोक्दै आफ्नो टोलीको हार टारिन्। डिबक्सभन्दा केही बाहिरबाट उनको टप कर्नर सटलाई अन्जनाले वान ह्यान्डेड पन्च गर्दै बाहिर पठाइन् र त्यससँगै नेपालले बलियो टोली बंगलादेशविरुद्ध एक अंक बटुल्यो। 

नेपालले आफ्नो दोस्रो खेल मंसिर २९ गते श्रीलंकाविरुद्ध खेल्नेछ। शनिबारकै पहिलो खेलमा भुटानले सुखद सुरुआत गर्ने क्रममा श्रीलंकामाथि ५–० को रबाफिलो जित निकाल्यो। पाकिस्तान र माल्दिभ्स सहभागी नभएको प्रतियोगितामा पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

राउन्ड रोविन लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलको यात्रा तय गर्नेछन्। नेपालले आफ्नो तेस्रो खेल पुस २ मा भुटानसँग र ४ गते बलियो टोली भारतसँग खेल्नेछ।  

प्रकाशित: २६ मंसिर २०७८ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App