७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः भिल्लारियाल अन्तिम १६ मा

भिल्लारियलविरुद्ध बल अगाडि बढाउँदै एटलान्टाका जापाटा (नीलो)। तस्बिरः एएफपी

अर्नौट डन्जुमाको दुई गोल प्रेरणामा भिल्लारियालले बिहीबार एटलान्टामाथि जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ।

भारी हिमपातका कारण नयाँ मिति निर्धारण गरेर खेलाइएको खेलमा भिल्लारियलले एटलान्टामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो।

समूह ‘एफ’को निर्णायक खेलमा हारेसँगै एटलान्टा तेस्रो स्थानमा खुम्चियो र यस सिजनको च्याम्पियन्स लिग यात्रा टुङ्ग्यायो। खेलको ७० मिनेटसम्म ३–० ले पछि परेको एटलान्टाले दुई गोल फर्काए पनि हार टार्न भने सकेन। खेलको तेस्रो मिनेटमा नै डच स्टार अर्नौटले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

४२औं मिनेटमा इटिने कापोईले गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा अर्नौटले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियाललाई स्पष्ट जितततर्फ अग्रसर गराए। तर, त्यसपछि एटलान्टाले लगातार दुई गोल फर्काउँदै चुनौती दिने प्रयास गर्‍यो।

७१औं मिनेटमा रुस्लान मलिनोभस्कीले गोल फर्काउँदै खेल ३–१ ले छोट्याए। ८०औं मिनेटमा एटलान्टाले अर्को गोल थप्यो। डुभान जापाटाले गोल गर्दै एटलान्टालाई जितको आशा जगाए। तर, त्यसपछिको बाँकी समयमा थप गोल हुन नसक्दा एटलान्टा पराजित भयो। गत बुधबार नै म्यानचेस्टर युनाइटेडले योङ ब्वाइजसँग१–१ को बराबरी खेल्दै आफूलाई यस समूहको शीर्ष टोलीका रूपमा उभ्याएको थियो।

समूह ‘जी’ को निर्णायक खेलअगाडि च्याम्पियन्स लिगको नकआउट चरणको सम्भावना पनि खुला थियो। चारै टोलीको नकआउट चरणको सम्भावना बाँकी रहँदा खेल रोमाञ्चक बन्ने तय थियो। जहाँ,लिलेले वुल्फसबर्गलाई ३–१ र साल्जबर्गले सेभियालाई १–० ले हराउँदै नकआउट चरणमा स्थान बनाए।

हारपछि सेभियाले तेस्रो स्थानमा खुम्चिँदै युरोपा लिगको यात्रा तय गरे पनि वुल्फसबर्ग पुछारमा सीमित रह्यो। सेभिया ६ पटकको युरोपा च्याम्पियन पनि हो। बायर्न म्युनिखसँग पराजयपश्चात् बार्सिलोनाको १७ वर्षदेखि लगातार च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा टुङ्गिएको छ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्नको घरेलु मैदानमा ३–० ले पराजित भएपछि समूहको तेस्रो स्थानमा सीमित रहँदा नकआउट चरणमा पुग्न सफल भएको हो। समूह ‘ई’ को महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको छ। ‘हामी यहाँबाट नयाँ युगको सुरु गर्नेछौं। त्यसको सुरुआत शून्यबाटै हुन्छ,’बार्सिलोनाको संकटमा गत महिना प्रशिक्षक नियुक्त हाबी हर्नान्डेजले भने।

गत सेप्टेम्बरमा क्याम्प नोउमा ३–० को जित निकालेको बायर्नले सोही नतिजा घरेलु मैदानमा पनि दोहोर्‍यायो। गत सोमबार डाइनामो किभमाथि निकालेको २–० को नतिजा नै बेनफिकालाई सोही समूहमा दोस्रो हुँदै अन्तिम १६को यात्रा तय गर्न पर्याप्त बन्यो।

लियोनल मेसीले बार्सिलोना छाडेपछि उनको प्रेरणामा रहेको क्लब पनि १७ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको नकआटउ चरणमा पुग्न असफल रह्यो। मेसीको युगमा बार्सिलोनाले चार च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

यस पटक बार्सिलोनाले आफ्नो समूहमा तीन खेलमा ३–० ले हार बेहार्नुपर्‍यो। तेस्रो स्थानमा खुम्चिएको बार्सिलोनाले ९ गोल बेहोर्दा दुई गोल मात्र गर्न सफल भयो। ला लिगाको सातौं स्थानमा रहनु र च्याम्पियन्स लिगबाट पनि बाहिरिनुले बार्सिलोनालाई ठूलो संकट पर्न सक्ने अनुमान पनि गरिएको छ।

बार्सिलोनाबाट खेलाडी जीवनपश्चात् सोही क्लबको प्रशिक्षणमा फर्किएका हाभीका लागि पनि ठूलो चुनौती बन्न सक्छ। ‘हामीले धेरै मिहिनेत गर्नुपर्छ। बार्सिलोनाको यो अवस्था हुनुमा धेरै पक्ष हाबी छ। यही नै हाम्रो अहिलेको वास्तविकता पनि हो। योभन्दा बढी म केही भन्न सक्दिनँ,’ उनले भनेका थिए।

समूह ‘ए’ बाट यसअघि नै डिफेन्डिङ च्याम्पियन चेल्सी र युभेन्ट्स शीर्ष दुईमा रहँदै नकआउट चरणमा पुगेका थिए। बुधबारका खेलमा चेल्सी रसियामा जेनिटसँग ३–३ को बराबरीमा रोकिए पनि शीर्ष स्थानमा रहन सफल भयो। युभेन्ट्सले भने माल्मोमाथि १–० को जित निकालेको थियो।

प्रकाशित: २५ मंसिर २०७८ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App