२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

क्रिकेटमा उदाउँदै स्याङ्जा

गण्डकी प्रदेशले क्रिकेटमा नयाँ च्याम्पियन पाएको छ। क्रिकेटमा कास्कीको बर्चस्वलाई तोड्दै स्याङजाले उमेर समूहको च्याम्पियनसिपको ताज लगाएको छ। च्याम्पियन अब कास्कीबाट स्याङजा झरेको हो।  

क्रिकेटको पूर्वाधारले व्याप्त कास्कीको क्रिकेट विस्तारै खस्कदै गएको वाई वाई यु–१९ गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता नतिजाले प्रष्ट्याएको छ। स्याङजालाई ३ विकेटले पराजित गरेको कास्की च्याम्पियन बन्ने हकदारबाट अन्तत टाढै रह्यो।  

मैदान छ। प्राक्टिसको लागि नेट्स छ। प्रशिक्षक भने छैन्। गण्डकी प्रदेशकै चारै जिल्लामा क्रिकेट प्रशिक्षक छैनन्। नेपाल क्रिकेट संघ क्यानले केहीमहिना अघि मात्रै प्रदेशको लागि रिजन प्रजुलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ। प्रशिक्षक विहीन चारै जिल्ला छनोट प्रतिस्पर्धामा उत्रिएका थिए। तनहुँ, नवलपुर र स्याङजामा कास्कीको जस्तो व्यवस्थित क्रिकेट मैदान छैन्। यद्यपी खेलाडीको प्रदर्शन र नतिजाले भने कास्कीमाथि दबाव सिर्जना गरिदिएको छ।  

कास्कीसँगै गण्डकी प्रदेशको क्रिकेटको इतिहास लोभलाग्दो र गर्विलो भने छैन्। हिजो पश्चिमाञ्चल क्षेत्रीय हुँदा पनि भैरहवाको अण्डरमा खेल्नुपर्ने थियो। त्यसपछि क्रिकेटको क्षेत्र बनाईयो। कास्की क्षेत्र ४ रहँदासम्म भैरहवामा पुगेर अन्तिम प्रतिस्पर्धा गर्नुपर्ने थियो। क्षेत्र नं ८ बनेपछि कास्की क्रिकेटमा नयाँ क्षेत्रको रुपमा उदाउने आशा र अपेक्षा थियो। तर नजिताले माथि उठेको देखाउन सकेको छैन। क्षेत्र नं ८ मा नवलपुर, तनहुँ र स्याङजासँगै कास्की छ। पर्वत र बाग्लुङमा क्रिकेट संघ छैन्। पर्वत र बाग्लुङका खेलाडीहरु कास्कीबाट छनोट खेलेर प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन्।  

चार जिल्लामा टिम च्याम्पियन बन्ने कास्की यतिबेला कमजोर बन्दै गएको छ। प्रशिक्षण हुनै सकेको छैन्। प्रशिक्षक छैन्न। सिनियर खेलाडी अझै व्याट लिएर क्रिजमा उत्रिदैं छन्। कोभिड–१९ले झण्डै डेढवर्ष थलियो। कोभिडकै कारण खेलकुदका कार्यक्रम हुनै सकेनन्। कोभिडकै समयमा मैदान पूर्णरुपमा बन्द जस्तै रह्यो। खेलाडीले नेट्स प्राक्टिस गर्ने अवसर पाएपनि मैदानमा खेल्ने अवसर भने पाएनन्।  

‘नयाँ खेलाडीले राम्रो प्रदर्शन देखाउन सकेनन्। सिनियर प्रतियोगिता अनुभव भएपनि प्रभावकारी प्रदर्शन रहेन्,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘फिल्डिङमा कमजोर देखियो। खेलाडीमा मैदानमा आत्मविश्वास कमि भएको महशुस गर्यौं।’ उनका अनुसार खेलाडीले आफु भित्रको प्रतिभालाई बाहिर ल्याउनै सकेनन्।  

क्रिकेट टिम गेम हो। टिम गेममा सामान्य कमजोरीले पनि पराजित भईन्छ। पछाडि परिन्छ। कास्कीको हकमा पनि त्यही हो। समग्र प्रदर्शन राम्रै रहेपनि नेट रनरेटमा कास्की स्याङजा भन्दा तल रह्यो। व्यक्तिगत प्रदर्शन राम्रो भएपनि जितको नतिजा आत्मसात गर्न नपाउँदा त्यो प्रदर्शन खल्लो हुन्छ।  

‘रनरेटले कास्की पछि परेको हो। तर व्यक्तिगत खेलाडीको प्रदर्शन राम्रो नै छ,’ गण्डकी प्रदेश क्रिकेट प्रशिक्षक रिजन प्रजुले भने, ‘खेलाडीमा खेलको अनुभवको कमी देखियो। फिल्डिङमा महत्वपूर्ण क्याचहरु छोडे।’ उनका अनुसार कास्कीमा अधिकांश युवा खेलाडी थिए। यु–१४ र यु–१६ का खेलाडीहरु समावेश थिए। दुईवर्षको अन्तरालपछि अधिकांश नयाँ खेलाडीलाई अवसर दिईएको थियो। अवसर पाएपनि खेलाडीहरुको अनुभवको कमि प्रष्ट देखिएको भन्दै प्रशिक्षक प्रजुले कमजोरीलाई सुधार्दै लैजानुपर्ने बताए।

प्रकाशित: ५ मंसिर २०७८ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App