१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

धनगढीलाई उपमेयर कप

पेनाल्टी सुटआउटमा ललितपुर महानगरपालिकालाई ३–१ ले हराउँदै मोफसलको टोली धनगढी उपमहानगरपालिकाले आइतबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि जितेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न फाइनलमा ललितपुरले पहिलो हाफमा लिएको ३–१ को अग्रता जोगाउन नसक्दा धनगढीलाई उपाधि सुम्पिन बाध्य भएको हो। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धनगढी च्याम्पियन बन्न सफल भएको हो।

पेनाल्टीमा धनगढीकी रेविका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गर्दा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले उत्कृष्ट बचाउ गरेकी थिइन्।ललितपुरकी निर्मला विकले गोल गर्दा सम्झना लावतीको प्रहार पोस्टबाट बाहिरियो। आशा कुँवर र रजनी थोकरको प्रहारलाई धनगढीकी गोलकिपर उषा नाथले रोक्न सफल भएकी थिइन्।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए। प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमा ललितपुरले ३–१ को अग्रता बनाएको थियो। १२औं मिनेटमा मनीषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन्।

१६औं मिनेटमा निर्मला विकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर भएको थियो। पछि परे पनि सम्हालिएको प्रदर्शन गरेको धनगढीले २४औं मिनेटमा सीमा रावलको गोलबाट अग्रता छोट्याउन सफल भयो। त्यसपछि ३९औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई पहिलो हाफमा ३–१ को मजबुत अवस्थामा पु¥याएकी थिइन्। 

पहिलो हाफमा पछि परेपछि दबाब दिएर खेलेको धनगढी दोस्रो हाफमा भने खेलको लय समात्न सफल भयो। ४९औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३–२ को स्थितिमा ल्याउँदा धनगढीले बाँकी समयमा पुनरागमन गर्ने संकेत देखाएको थियो। अग्रता लिए पनि रक्षापंक्तिमा अलमलिएको ललितपुरले ६४औं मिनेटमा गोल खान पुग्यो। चन्द्रा भण्डारीले व्यक्तिगत दोस्रो गोलबाट धनगढीले खेल ३–३ को बराबरीमा ल्याउन सफल भयो। ७६औं मिनेटमा धनगढीले पेनाल्टीबाट अग्रता लिने अवसर पाएको थियो। तर पेनाल्टी प्रहारमा आएकी राष्ट्रिय टोलीकी खेलाडी रेखा पौडेलले गुमाउँदा निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएको थियो।  

उपाधिसँगै धनगढीले ५ लाख रपैयाँ प्राप्त गर्दा उपविजेता ललितपुरले ३ लाख रूपैयाँमा चित्त बुझायो। ३१ टोलीले सहभागिता जनाएको छनोट प्रतियोगितामा फ्mेयर प्लेको अवार्ड जानकी गाउँपालिका, कैलालीले हात पार्‍यो। जानकीले नगद ५० हजार रूपैयाँ हात पार्‍यो।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि कन्काई नगरपालिकाकी दीपा शाहीले थाप्दै नगद ५० हजार रूपैयाँ हात पार्दा उत्कृष्ट गोलकिपर धनगढीकी उषा नाथले प्राप्त गरिन्।

यस्तै उत्कृष्ट रक्षक ललितपुरकी सृजना सिंह घोषित हुँदा उत्कृष्ट मिडफिल्डर धनगढीकी सरस्वती रोकाया, फरवार्ड धनगढीकी चन्द्रा भण्डारी तथा प्रशिक्षकको उपाधि राघवेन्द्र कार्कीले हात पारे। उत्कृष्ट सबैले नगद २० हजार रूपैयाँको चेक प्राप्त गरे। विजयी खेलाडीलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी तथा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडलगायतका पदाधिकारीले पुरस्कार वितरण गरे। 

प्रकाशित: २९ कार्तिक २०७८ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App