११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप छनोटः अन्तिम खेलको प्रतीक्षामा इटाली

ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।

चार महिना अगाडि मात्र इटालीले युरोकप २०२० को फाइनलमा इङ्ल्यान्डमाथि पेनाल्टी सुटआउटमा सफलता पाएको थियो। कतार विश्वकपको युरोपियन छनोटअन्तर्गत शुक्रबार राती यी दुई टोली नै आ–आफ्नो प्रतिद्वन्द्वीविरुद्ध उत्रिए, जहाँ इटालीले पेनाल्टी अवसर गुमाएपछि स्विट्रल्यान्डसँग १–१ को बराबरीमै चित्त बुझायो। जर्जिन्होले अवसर गुमाउँदा इटालीले विश्वकपमा छनोटका लागि निर्णायक खेल कुर्नुपर्ने भएको हो। तर, इङ्ल्यान्डले भने अल्बानियामाथि ५–० को रबाफिलो जित निकाल्यो। गत जुलाईमा सम्पन्न युरोको फाइनलमा पनि जर्जिन्होले पेनाल्टी अवसर खेर फालेका थिए।

त्यो असफलता उनले कतार विश्वकपको छनोट लागि स्विट्जरल्यान्डसँगको महत्वपूर्ण खेलमा पनि दोहो¥याए। उनले ९०औं मिनेटमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेनन्। यो नतिजाका कारण इटाली लगातार दोस्रोपल्ट विश्वकप खेल्नबाट बन्चित हुन पनि सक्दछ। इटाली यसअघि सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो। जिओभान्नी डी लोरेन्जोको हेडर गोलबाट इटाली १–१ को बराबरीमा फर्किए पनि तीन अंक जोड्न भने असफल रह्यो। ३६औं मिनेटमा लोरेन्जो इन्सिग्नेको पास सदुपयोग गर्दै उनले गोल गरे।

त्यसअघि सिल्भान विडमेरले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए। तर, स्विट्रल्यान्डले घरेलु टोलीविरुद्ध त्यो अग्रता जोगाउन सकेन। अन्तिम समयमा भाग्यले साथ दिँदा स्विट्रल्यान्डले महत्वपूर्ण एक अंक भने प्राप्त गर्‍यो। यो नतिजाका बावजुद इटाली गोल अन्तरका आधारमा समूह ‘सी’ को शीर्ष स्थानमा छ। समूहका समान एक खेल खेल्न बाँकी छँदा इटाली र स्विट्रल्यान्ड दुवैको समान १५ अंक छ। अन्तिम खेलमा दुवैले जित निकाले पनि गोलअन्तरका आधारमा इटालीले विश्वकपको यात्रा तय गर्दा स्विट्जरल्यान्डले भने प्लेअफमा प्रवेश पाउनेछ।

इटालीको हार या बराबरी हुँदा स्विट्रल्यान्डले जित निकालेमा विश्वकपमा स्थान बनाउनेछ। यता समूह ‘आई’ को खेलमा केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले अल्बानियामाथि रबाफिलो जित निकाल्दै कतार विश्वकपमा छनोटको सम्भावना बलियो बनाएको छ। केनले हेडर, बायाँ र दायाँ खुट्टाबाट गोल गरेका थिए। ह्यारी माग्वेएर र जोर्डन हेन्डरसनले १÷१ गोल थप्दा इङ्ल्यान्डले फराकिलो जित निकाल्यो। जितसँगै इङ्ल्यान्डले अर्को वर्षको नोभेम्बरमा हुने विश्वकपमा छनोट सम्भावना बलियो बनायो।

इङ्ल्यान्डले आगामी नोभेम्बर १५ मा सबैभन्दा तल्लो फिफा वरीयताको टोली सान मारिनोविरुद्ध खेल्नेछ। सोही दिन नै दोस्रो स्थानको पोल्यान्डले हंगेरीविरुद्ध खेल्दै छ। इङ्ल्यान्डको जितले पोल्यान्डको विश्वकपमा सीधा छनोट हुने सम्भावना सकिनेछ। पोल्यान्डले पनि शुक्रबार एन्डोरामाथि ४–१ को जित निकाल्दै कम्तीमा प्लेअफको सम्भावना जीवितै राख्यो। शुक्रबार नै समूह ‘ए’ को खेलमा दोस्रो स्थानको स्कटल्यान्डले माल्डोभालाई २–० ले हराउँदै प्लेअफमार्पmत सन् १९९८ पछि विश्वकप खेल्ने सपना कायमै राख्यो।

स्कटल्यान्ड तेस्रो स्थानको इजरायलभन्दा सात अंकले अगाडि छ। इजरायलले पनि शुक्रबार नै अस्ट्रियासँग ४–२ को हार बेहोर्दा प्लेअफको सम्भावना सकिएको थियो। सोही समूहको शीर्ष टोली डेनमार्कले फारो आइसल्यान्डलाई ३–१ ले हराउँदै ९ खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ। यसअघि नै विश्वकपमा स्थान बनाइसकेको डेनमार्कले अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २८ कार्तिक २०७८ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App