६ वैशाख २०८१ बिहीबार
खेल

धनगढी र ललितपुर छनोट

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन्। 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा)मुख्यालयको मैदानमा शुक्रबार भएका सेमिफाइनल खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनल प्रवेश गर्दा राष्ट्रिय लिगका लागि छनोट भएका हुन्।

मुख्यालयको मैदानमा भएको दिनको पहिलो सेमिफाइनलमा ललितपुरले कन्काई नगरपालिका झापालाई१–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ललितपुरले अन्तिम दुईमा स्थान बनाउने क्रममा कप्तान निर्मला विकले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो।

सुरुआतमा नै अग्रता लिएको खेलमा दुवै टोलीले आकर्षक खेल खेलेका थिए।पहिलो हाफमा पछि परेपछि आक्रामक खेलेको कन्काईले दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि गोल गर्न असफल भयो। कन्काईले खेल अवधिमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो। जसको मूल्य कन्काईलाई निकै ठूलो हुन पुगेको छ।

प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न दिनको दोस्रो सेमिफाइनल खेलमा गौरीगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाएर धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ।

सुरुआतबाट नै दबाब दिएर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिडन्त पक्का गरेको हो।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउँदा उपविजेताले ३ लाख पाउनेछ। फेयर प्ले टोलीले ५० हजार प्राप्त गर्दा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित: २७ कार्तिक २०७८ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App