१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिचद्वारा साम्प्रासको कीर्तिमान भंग

यस वर्षका ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट चुकेका नोभाक जोकोभिच शनिबार सातौं पटक विश्व नम्बर एक रहेर सिजनको अन्त्य गरेपछि केही सान्त्वना मिलेको छ।

३४ वर्षे सर्बियन स्टार जोकोभिचले यसअघि पिट साम्प्रासले जस्तै ६ सिजन विश्व नम्बर एकमा रहेर रेकर्ड बनाएका थिए। पेरिस मास्टर्सको सेमिफाइनलमा पोल्यान्डका हबर्ट हुकाजलाई ३–६, ६–० र ७–६ (७–५) हराउँदै उपाधि यात्रा तय गरेपछि जोकोभिच यस सिजन पनि विश्व नम्बर एकमा नै रहने पक्का भएको थियो।

यो सफलतासँगै उनले साम्प्रासलाई पनि लामो समय विश्व नम्बर एकमा रहने कीर्तिमानबाट पछि पारे। गत सेप्टेम्बरमा युएस ओपनको फाइनलमा ड्यानिल मेदभेदेभसँग स्तब्ध भएपछि उनको विश्व नम्बर एकको यात्रामा लगातार सातौं हप्तामा पुगेर पूर्णविराम लागेको थियो।

तथापि,२०औं पटकका ग्रान्ड स्लाम च्याम्पियन जोकोभिचले आफू यस हप्ता टेनिस कोर्टमा फर्कनुको मुख्य उद्देश्य विश्व नम्बर एकको ताज फर्काएर रेकर्ड बनाउनु रहेको उल्लेख गरे।‘म सानै छँदा मेरो आदर्श पिट हुन्। उनको त्यो रेकर्ड ब्रेक गर्ने मेरो लक्ष्य नै थियो,’ जोकोभिचले भने,‘यो मेरा लागि सफलता मात्र होइन, सपना नै हो। यो ठाउँमा पुग्नुलाई भाग्यमानी ठानेको छु।’

खेलपछि उनले विश्व नम्बर एक रहेर सिजनको अन्त्य गर्नु गर्व भएको उल्लेख गरेका छन्।‘सेमिफाइनल खेल निकै रोमाञ्चक रह्यो। साथै विश्व नम्बर एकमा रहँदा गर्वको महसुस गरेको छु। त्यसैले म निकै हर्षित भइरहेको पनि छु। यो सफलतापछि धेरै सकारात्मक भावनाहरू पनि मनमा आएका छन्।’

यस वर्षको सुरुआतमा विश्व नम्बर एकमा धेरै हप्ता रहने रोजर फेडेररको कीर्तिमान भंग गरेका जोकोभिचले यो सफलता तोड्न निकै कठिन भएको उल्लेख गरेका छन्।‘ऐतिहासिक रूपमा विश्वको नम्बर एकमा रहनु खेलकुदमा निकै कठिन हुने गर्दछ,’जोकोभिचले भने,‘मलाई पनि यो सफलता प्राप्त गर्छु जस्तो लागेको थिएन।’

रसियन स्टार मेदभेदेभलाई विश्व नम्बर एक बन्न रोकेपछि जोकोभिचलाई केही सान्त्वना पनि मिलेको छ। किनकि मेदभेदेभले नै जोकोभिचलाई यस वर्षको ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट रोकेका थिए।

प्रकाशित: २२ कार्तिक २०७८ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App