२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

एसपिसिले जित्यो प्रथम सिंगापुर मितेरी फुटसलको उपाधि

च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उपाधि एसपिसि धरानले जितेको छ। धरान ११ स्थित मितेरी फुटसलमा मंगलबार सम्पन्न फाइनल खेलमा ग्याटिस टिमलाई ५–० गोलअन्तरले हराउँदै एसपिसिले उपाधि जितेको हो। उपाधि ट्रफीसँगै एमपिसिले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पनि हात पारेको छ। यस्तै, उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्यो।

फाइनल खेलमा एसपिसिका अर्जीन भण्डारीले २ गोल गरे भने सुदर्शन श्रेष्ठ, अंकित भुजेल र एजि श्रेष्ठले एक एक गोल गरेका थिए। अर्जीनले प्रतियोगिता अवधिभर कूल १० गोल गरेर हाई स्कोररको पुरस्कार पनि हात पारे। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी ग्याटिसका समिर गुरुङ घोषित भए भने उत्कृष्ट गोलकिपरको उपाधि एसपिसिका सारंश भट्टराई घोषित भए। उनीहरुले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र हात पारे। 

फाइनल खेलअघि मंगलबार नै सेमीफाइनल खेल भएको थियो । सेमीफाइनलमा ग्याटिसले आयोजक मितेरी फुटसल टिमलाई ७–२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो भने एसपिसिले च्याम्सलाई ३–२ गोल अन्तरले पराजित गरेर फाइनलमा ग्याटिससँग भेट पक्का गरेको थियो। विजेता तथा उपविजेता खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई आयोजिक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि एवं अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय प्रथम उपाध्यक्ष, एन्फा केन्द्रिय सदस्य किरण राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिता मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आइतबारदेखि भएको थियो। च्यारिटेवल प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो।

प्रकाशित: १२ आश्विन २०७८ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App