२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

रोहित र सोमपालको अनुशासित ब्याटिङ

बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ।

ओमानस्थित अलअमेरात क्रिकेट मैदानमा १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा निकै संघर्ष गरे पनि रोहित र सोमपालले अनुशासित इनिङ खेल्दै दुई विकेटको जित दिलाएका हुन्। यससँगै नेपालले विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप खेलिएको दुई एकदिवसीय शृंखलामा अग्रता समेत लिएको छ। 

रोहित र सोमपालले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै हारको सँघारमा पुगेको नेपाललाई ६३ बलअगावै सफलता दिलाएका हुन्। नेपाललाई जितका लागि एक रन आवश्यक हुँदा गौदी टोकाले रोहितलाई बोल्ड गर्दै यो साझेदारी तोडेका थिए।

रोहितले ६५ बलमा दुई चौकासहित ४१ रनको इनिङ खेले। तर, त्यसपछि टोकाले नै नो बल फ्याँक्दा नेपालले थप क्षति बेहोर्नुपरेन। सोमपाल भने २२ रनमा अविजित रहे। उनको इनिङमा एक चौका र छक्का समावेश थियो। राम्रो सुरुआत गरेको नेपालले ४६ रन जोड्दा पहिलो विकेटका गुमाएको थियो। ओपनर कुशल भुर्तेल १५ रनमा आउट भए।

थप ३ रन जोड्दा नेपालले अर्का ओपनर आसिफ शेख (३०) लाई पनि गुमायो। त्यसपछि खातामा थप ३३ रन जोड्दा नेपालले ५ विकेट गुमायो। जसका कारण नेपाल ८२ रनमा ७ विकेट पतनको नाजुक अवस्थामा पुगेको थियो। तर, रोहित र सोमपालले संयमित भएर ब्याटिङ गर्दै जित दिलाए।

पपुवा न्युगिनीको बलिङमा टोकाले तीन विकेट लिँदा युवा ब्याट्सम्यानत्रय रोहित, कुशल मल्ल र पवन सर्राफलाई सिकार बनाए। उनले ४.३ ओभरमा एक मेडन राख्दै १८ रन मात्र खर्चिए। त्यस्तै डामिन राभु र चाड सोपरले २/२ विकेट लिँदा नोसेन पोकनाले एक विकेट निकाले।

 त्यसअघि टस जितेर ब्याटिङ गरेको पपुवा न्युगिनीले निकै खराब सुरुआत गर्दै चौथो ओभरमा ९ जोड्दा नै दुई विकेट गुमाएको थियो। तीव्र गतिका बलर विक्रम सोबले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई १ रनमै पवेलियन फर्काउँदै नेपाललाई पहिलो विकेट दिलाए। विक्रम एकदिवसीय करियरको आफ्नो पहिलो बलमै विकेट लिने विश्वको २८औं बलरसमेत बने।

उनले नै पपुवा न्युगिनीको दोस्रो विकेट लिँदा कप्तान कप्तान असाद भालालाई ४ रनमै पवेलियनको बाटो देखाए। तर, तेस्रो विकेटका लागि अर्का ओपनर लेगा साइका र चार्ल्स अमिनीले ५० रनको साझेदारी गर्दै पपुवा न्युगिनीको इनिङ उकासे। 

तर, नेपालका स्पिनर सन्दीप लामिछाने चम्केपछि पपुवा न्युगिनीको इनिङ धराशयी भन्यो। सन्दीपले नै यो साझेदारी तोड्दा ११.५ ओभरमा अमिनीलाई २३ रनमा आसिफ शेखबाट क्याच गराए। अर्को ओभरमा नै कुशल मल्लले लेगालाई ३० रनमा कट एन्ड बोल्ड गरे। त्यससँगै पपुवा न्युगिनीको इनिङ नेपालको बलरसामु समालिन सकेन।

त्यसपछि सन्दीपले पाँचौं, कुशलले छैटौं र सोमपालले सातौं विकेट लिए। यी तीनै दोहोरो अंक जोड्ने ब्याट्सम्यान थिए। नवौं ब्याट्सम्यान सोपरले नटआउट १७ रन खेले पनि लगातार विकेट गुम्दा पपुवा न्युगिनी ३३ ओभरमै समेटियो। नेपालको बलिङमा सन्दीप लामिछानेले सार्वधिक चार विकेट लिए। १० ओभरमा ३५ रन खर्चिएका सन्दीप म्यान अफ दी म्याचसमेत भए। कुशल र विक्रमले २/२ विकेट निकाले। सोमपाल कामीको नाममा एक विकेट रह्यो।  

प्रकाशित: २३ भाद्र २०७८ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App