१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेडसँग रोनाल्डोको ‘अजम्बरी माया’

इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट मंगलबार ओल्ड ट्राफोर्ड फर्किएसँगै स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग ‘अजम्बरी माया’ रहेको प्रतिक्रिया दिएका छन्। पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डोलाई युनाइटेडले २ वर्षका लागि अनुबन्धित गरेको हो।रोनाल्डोले सन् २००३ देखि २००९ सम्म गरी ६ सिजन युनाइटेडमा बिताएका थिए। युनाइटेड बसाइमा उनले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।  

सन् २००९ उनी विश्वकीर्तिमानी ८० मिलियन पाउन्डमा स्पेनिस ला लिगा महारथी रियाल मड्रिडमा अनुबन्धित भएका थिए। रोनाल्डोले ८ सिजन सान्टियागो बर्नाबेउमा बिताउने क्रममा लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। सन् २०१८ मा रोनाल्डो रियालबाट युभेन्ट्स गएका थिए, जहाँ उनले तीन सिजन बिताएका थिए।

उनले युनाइटेडमा  हुँदै पहिलो पटक बालोन डी’अर जितेका थिए। युनाइटेड बसाइमा उनले एक पटक च्याम्पियन्स लिग, तीन पटक प्रिमियर लिग, एक पटक एफए कप र दुई पटक इङ्लिस लिग कपको उपाधि जितेका थिए।

‘मैले ओल्ड ट्राफोर्ड फर्कने सपना देखेको थिएँ,जुन आज पूरा भयो,’ रोनाल्डोले इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘म युनाइटेडलाई निकै माया गर्छु र क्लबसँग मेरो विशेष आत्मीयता छ, जुन शब्दमा वर्णन गर्न सकिँदैन।युनाइटेडमा बस्दाको क्षण मेरा लागि सधैँ यादगार थिए। हामीले सँगसँगै सफलताको गाथा कोरेका थियौं। म अहिले क्लब फर्कन पाउँदाको हर्ष वर्णन गर्न सक्दिनँ। मेरो एउटा सपना पूरा भएको आभास भइरहेको छ।म पुनः म्यानचेस्टरको जर्सीमा उत्रँदै छु। समर्थकको माया र सद्भावका लागि विशेष आभारी छु।

सेप्टेम्बर ११ मा इङ्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासलविरुद्ध हुने खेलसँगै रोनाल्डोले युनाइटेडबाट डेब्यु गर्ने अनुमान गरिएको छ। युनाइटेडका समर्थकले आइतबार उल्भरह्यामटनविरुद्ध १–० को जित हात पारेको खेलमा रोनाल्डोको समर्थनमा चर्को नारा लगाएका थिए। यसबाट रोनाल्डोको युनाइटेड पुनरागमनमा दर्शकको उत्साह सहजै अनुमान लगाउन सकिन्छ।

‘विगतमा पनि इतिहास रचिएको थियो र आगामी दिनमा पनि इतिहास रचिनेछ,’ रोनाल्डोले लेखेका छन्, ‘म फर्किएको छु। पुनः इतिहास रच्चे वाचासहित।’

रोनाल्डोले ओल्ड ट्राफोर्डमा रहँदा वर्तमान प्रशिक्षक ओले गनर सोल्सजायरसँग टोली सहयात्रीका रूपमा खेलिसकेका छन्। पूर्वप्रशिक्षक एलेक्स फर्गुसनको आग्रहपछि मात्र रोनाल्डो युनाइटेड फर्कन सहमत भएका थिए। रोनाल्डोलाई अनुबन्धित गर्न अर्को प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीले समेत इच्छा देखाएका खबर सार्वजनिक भएको थियो।‘सर एलेक्स, यो तपाईंका लागि,’ रोनाल्डोले भने। रोनाल्डोको आगमनसँगै युनाइटेडका प्रशिक्षक सोल्सजायर पनि प्रमुख प्रतियोगितामा क्लबको दरिलो उपस्थिति हुने सम्भावनाबाट उत्साही छन्।

युनाइटेडले नयाँ सिजनका लागि रियाल मड्रिडबाट रक्षक राफाइल भरानलाई अनुबन्धित गरेको थियो भने बोरुसिया डर्टमन्डका विंगर जाडोन सान्चोका लागि ७३ मिलियन पाउन्ड खर्चिएको थियो। युनाइटेड सन् २०१३ पछि पहिलो पटक प्रियिमर लिगको उपाधि जित्ने लक्ष्यमा छ।‘रोनाल्डोको पुनरागमनले क्लबमा विशेष अर्थ राख्छ र उनी आफ्नो घर फर्किएकोमा म धेरै हर्षित छु,’ सोल्सजायरले भने।

युनाइटेडले यस सिजन प्रिमियर लिगको सुरुआती तीन खेलको समाप्तिमा अपराजित यात्रा कायम राख्दै ७ अंक बटुलेको छ जुन समान खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा बसेको टोटेनह्यामको भन्दा मात्र २ अंक कम हो।युनाइटेडले पछिल्लो पटक सन् २००८ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। मस्कोमा भएको चेल्सीविरुद्धको फाइनलमा रोनाल्डोले गोल गरेका थिए। त्यसयता युनाइटेडको च्याम्पियन्स लिग यात्रा यादगार बन्न सकिरहेको छैन।

युभेन्ट्समा तीन सिजन बिताएका रोनाल्डोले गत सिजन इटालियन सिरी ‘ए’ का सर्वाधिक गोलकर्ता बनेका थिए।सन् २०२० को युरोपियन च्याम्पियनसिपमा पनि मात्र ४ गोल गरेका पोर्चुगलका कप्तान रोनाल्डोले गोल्डेन बुट जितेका थिए।

प्रकाशित: १६ भाद्र २०७८ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App