११ माघ २०७८ मंगलबार
खेल

भूकम्पपीडितलाई ओसाकाको सहयोग

जापानी टेनिस स्टार नाओमी ओसाकाले आगामी डब्लुटिए टुरमा कमाउने आम्दानीको रकम गत शनिबार हाइटीमा गएको भूकम्पपीडितका लागि खर्च गर्ने घोषणा गरेकी छन्।

सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। ‘हाइटीमा महाविनाशकारी भूकम्प गएको सुन्दा निकै दुःखी भएकी छु। यसै हप्ता प्रतियोगिता खेल्दै छु। त्यहाँबाट कमाइ हुने सबै रकम राहत कोषमा पठाउनेछु,’ ओसाकाले ट्विटरमा उल्लेख गरिन्। साथै उनले आफ्नो पुर्खाको रगत बलियो रहेको र एक दिन पुनः माथि उठ्ने विश्वास पनि व्यक्त गरेकी छन्।

हाइटीको दक्षिणपूर्वी क्षेत्र पेनिनसुलामा शनिबार ठूलो भूकम्प जाँदा करिब ३ सय ४ जना मानिसको मृत्यु भएको थियो। भूकम्पका कारण घर, चर्च, व्यावसायिक संस्था र विद्यालयहरू पनि भत्किएका छन्। २३ वर्षीया ओसाका जापानमा जन्मिएकी हुन्। उनकी आमा जापानकी नागरिक हुन्। तर, उनी तीन वर्षको हुँदादेखि उनको परिवार अमेरिकामा बस्ने गर्छ। गत शनिबार पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि तत्कालै राहत कोष घोषणा गरे र अमेरिकाले पुनर्निर्माणमा सघाउ पुर्‍याउने बताएका थिए। ओसाकाका पिता लियोनार्दो फ्रान्कोइस इपी सेन्टर दक्षिणपूर्वी क्षेत्र पेनिनसुलानजिकै जास्मेलका हुन्।

ओसाकाले आफू जापानिज र हाइटी दुवैको संस्कारमा हुर्किएको बताउँदै आएकी छन्। उनको हाइटीका हजुरबुबालाई अंग्रेजी भाषा बोल्न आउँदैन। त्यसैले ओसाकाका सबै परिवार नै हजुरबुबासँग हाइटीकै भाषा क्रियोलमा कुराकानी गर्ने गर्छन्। मानसिक स्वास्थ्यमा समस्या देखाउँदै प्रतियोगिता छाडेपछि यसै हप्ता हुने सिनसिन्नाटी ओपन उनका लागि दोस्रो प्रतियोगितासमेत हो। पछिल्लो प्रतियोगिता टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले दीप प्रज्वलनसमेत गरेकी थिइन्। तर, उनी ओलम्पिकमा भने तेस्रो चरणबाटै बाहिरिएकी थिइन्।

उनलाई सोझै सेटमा हराएकी मार्केटा भोन्ड्य्रुसोभाले भने रजत पदक जितिन्। गत मेमा सम्पन्न फ्रेन्च ओपनमा पत्रकार सम्मेलन बहिष्कार गरेका कारण उनी जरिवानामा परिन् र त्यसपछि उनले मानसिक स्वास्थ्यमा समस्या रहेको भन्दै प्रतियोगिता पनि छाडेकी थिइन्।  

प्रकाशित: ३२ श्रावण २०७८ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App