१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

टोकियो ओलम्पिक २०२० कोभिड १९ संक्रमण र त्यस कारण लागेको स्वास्थ्य संकटकालका कारण ओलम्पिक इतिहासमा विशेष स्थान राख्नेछ। यसका साथै टोकियो ओलम्पिकले खेलाडीको मानसिक स्वास्थ्यलाई समेत समेत खुला बहसमा ल्याएको छ।

अमेरिकाकी जिम्न्यास्टिक स्टार सिमोनी बाइल्सले आफूले प्रतिस्पर्धा गर्ने ६ मध्ये १ विधामा मात्र प्रतिस्पर्धा गरिन्। स्वर्ण दाबेदार मानिएकी बाइल्सको टोकियो ओलम्पिक यात्रा अन्ततः एक कांस्य पदकका साथ अन्त्य भयो। उनले मानसिक रूपमा फिट नभन्दै अन्य ५ विधाबाट नाम फिर्ता लिएकी थिइन्। त्यस्तै ब्रिटेनका एडम पिइटेले पनि मानसिक रूपमा फिट रहनैका लागि महिना दिन खेलबाट विश्राम लिने घोषणा गरे। बाइल्सको केही विधा छोड्ने निर्णयको धेरैले सराहना गरे पनि केहीले उनको निर्णयप्रति आपत्ति जनाएका थिए।

‘मेरो मानसिक र शारीरिक स्वास्थ्य पदकभन्दा माथि छ,’ ओलम्पिक इतिहासमा ४ स्वर्णसहित कुल ७ पदक विजेता २४ वर्षीया बाइल्सले आफ्नो निर्णयबारे बताएकी थिइन्। त्यस्तै एडम पिइटेले पनि आफूमाथि पदक जित्नैपर्ने चरम दबाब रहेको भन्दै प्रतियोगितापछि मानसिक रूपमा स्वस्थ हुनकै लागि करिब एक महिना खेलबाट अलग हुने बताएका थिए।

‘यो सहज निर्णय होइन,’ पिइटेले ट्विट गरेका थिए, ‘पदक जित्नका लागि धेरै दबाब हुन्छ। पैसाले खुसी किन्न सकिँदैन। त्यसैले म एक महिना विश्राम लिँदै छु। पछिल्लो सात वर्षमा मैले वार्षिक रूपमा दुई साताभन्दा कम समयको बिदा पाइरहेको छु, जुन ज्यादै कम हो।’ 

पिइटेले टोकियो ओलम्पिक २०२० मा २ स्वर्ण र १ रजत पदक जितेका थिए। अमेरिकाका लागि पौडीमा ५ स्वर्ण जितेका सिलेव ड्रेसेलले पनि आफूलाई प्रतियोगितामा धेरैभन्दा धेरै स्वर्ण जित्न दबाब दिइएको खुलासा गरेका थिए। ‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना गर्‍यो  ,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो। तर सञ्चारमाध्यमले मलाई अग्रज खेलाडीको कीर्तिमानसँग तुलना गरेर दबाब दिए।’ 

हालैका दिनमा खेलाडीहरूले मानसिक स्वास्थ्यकै कारण प्रतियोगिताहरू बीचमै छोडेका घटना पनि बाहिर आइरहेका छन्। जापानकी नाओमी ओसाकाले मानसिक स्वास्थ्यका कारण फ्रेन्च ओपनको तेस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन्। केही दिनअघि मात्र इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले पनि मानसिक रूपमा फिट नरहेको भन्दै अनिश्चित समयका लागि सबैखाले क्रिकेट गतिविधिबाट अलग भएको घोषणा गरेका थिए।  

प्रकाशित: २४ श्रावण २०७८ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App