११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पाउलाको ओलम्पिक यात्रा समाप्त

मार्केटा भान्ड्रोसोभासँगको खेलमा रिटायर्ड हर्ट हुँदै ह्विलचेयरका माध्यमबाट कोर्टबाट बाहिरिँदा पाउला बाडोसाको टोकियो ओलम्पिक यात्रा क्वार्टरफाइनलमा समाप्त भएको छ।  

गर्मी वातावरणमा भएको प्रतिस्पर्धामा पहिलो सेट गुमाएकी पाउला दोस्रो सेटको खेल चलिरहँदा रिटायर्ड हट हुँदै कोर्टबाट बाहिरिएकी थिइन्। पहिलो सेट ६–३ ले गुमाएकी पाउला दोस्रो सेटमा फर्कन प्रयास गर्ने क्रममा चोटग्रस्त भएकी थिइन्। त्यसपछि मेडिकल समय माग्दै खेलमा फर्किन संघर्ष गरे पनि उनी खेलमा फर्किन असफल भइन्। पूरा खेल बाँकी रहँदै कोर्टबाट बाहिरिँदा उनलाई भान्ड्रोसोभाले अँगालो मार्दै सान्त्वना दिइकी थिइन्।  

‘यस्तो तरिकाले खेल सक्नुपर्दा निकै पीडा महसुस हुन्छ। यो अवस्था पहिलो दिनबाट नै देखिएको थियो। हामीले यो खेलको तालिका हेरफेर गर्न आग्रह गरेका थियौं,’ चोटग्रस्त हुँदै कोर्टबाहिर गएकी पाउलाले भनिन्, ‘मलाई खेलअवधिभर निकै गर्मी भएको महसुस भयो। जसका कारण मैले स्वाभाविक खेल देखाउन सकिनँ। यसै कारण बाँकी खेल खेल्न नसक्ने भएर बाहिरिएँ।’ चोटग्रस्त भएकी पाउलाले मिक्स डबल्सको खेलबाट पनि नाम फिर्ता लिएकी छिन्। पाब्लो कारेनो बुस्टासँग जोडीका रूपमा प्रतिस्पर्धा गर्ने तालिका थियो। प्रतिस्पर्धाको समयमा बाहिरी वातावरणको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने वर्षापछि ३२ डिग्री सेल्सियसमा झरेको थियो।  

यस्तै पुरुषतर्फको खेलमा डानिल मेदभेदेभले अघिल्लो चरण प्रवेशका लागि गर्मीसँगै इटालीका फावियो फोग्निनीको चुनौतीलाई परास्त गर्न निकै संघर्ष गर्नुपर्‍यो। यस क्रममा संघर्ष गर्दा खेल सञ्चालन गराइरहेका अम्पायरलाई ओलम्पिक खेल्ने क्रममा मृत्यु भए को जिम्मेवार हुन्छ ? भन्दै मेदभेदेभले प्रश्न गरेका थिए। 

यस अघि मेदभेदेभ र नोभाक जोकोभिचले मध्य गर्मीमा भन्दा ३ बजेपछिको समयमा टेनिसका खेल सञ्चालन गर्न भन्दै आयोजकलाई आग्रह गरेका थिए। ‘म खेल सक्न सक्छु तर मेरो मृत्यु खेल दौरानमा भयो भने को जिम्मेवार हुन्छ,’ रसियाका मेदभेदेभले अम्पायरलाई प्रश्न गरे। मेडिकल समय लिएर अघिल्लो चरण प्रवेश गर्ने क्रममा फावियो फोग्निनीलाई ६–२, ३–६ , ६–२ ले पराजित गर्न मेदभेदेभले संघर्ष गरेका थिए। मेदभेदेभले गरेको प्रश्नमा अम्पायरले खेल्ने क्रममा दुर्घटना भए आइटिएफले जिम्मेवारी लिने प्रतिक्रिया दिएका थिए।  

प्रकाशित: १४ श्रावण २०७८ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App