६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा फ्रान्सलाई सफलता

एक सातापछि टोकियोमा हुने ओलम्पिक खेलअघिको मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्सले दक्षिण कोरियालाई २–१ ले पराजित गरेको छ। सियोलमा भएको वार्मअप खेलमा फ्रान्सले पुनरागमनमा जित निकालेको हो। यससँगै दक्षिण कोरियाले यसै साता दुई वार्मअप खेल खेलेको छ। यसअघि अर्जेन्टिनासँग खेल्दा २–२ को बराबरीमा रोकिएको थियो।  

कोरियाको राजधानीमा भएका दुवै खेल कडा स्वास्थ्य मापदण्डको व्यवस्थापनमा आयोजना भएका थिए। बन्द रंगशालामा आयोजना भएको खेलमा दर्शकलाई अनुमति दिइएको थिएन। पहिलो हाफ गोलरहित बराबरी खेलेको भ्रमणकारी टोली फ्रान्सविरुद्ध कोरियाले पेनाल्टीबाट अग्रता लिएको थियो। ६३औं मिनेटमा दक्षिण कोरियाका लागि चाङ होनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २० मिनेटपछि फ्रान्सका लागि रान्डल कोलो मुआनीले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। त्यसपछि खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा नाथानइल मुबुकलेले गोल गर्दै भ्रमणकारी टोलीले अग्रता उल्टाउँदा फ्रान्सले जित निश्चित गरेको थियो।  

आभ्यासका लागि फ्रान्सलाई आतिथ्यता गरेको दक्षिण कोरियाले अर्को साताबाट जापानमा हुने ओलम्पिक महाकुम्भमा न्युजिल्यान्डसँग जुलाई २२ मा सुरुआती खेल खेल्नेछ। यसअघि २०१२ मा सम्पन्न ओलम्पिकमा दक्षिण कोरियाले फुटबल विधामा कांस्य पदक जितेको थियो।  

दक्षिण कोरियासँगै समूह ‘बी’ मा न्यूजिल्यान्ड, होन्डुरस र रोमानिया छन्। आयोजक जापान भने समूह ‘ए’ मा रहेको छ। जापानसँगै समूह ‘ए’ मा साउथ अफ्रिका, मेक्सिको र फ्रान्स अटाएका छन्। यस्तै समूह ‘सी’ मा इजिप्ट, स्पेन, अर्जेन्टिना र अस्ट्रेलिया छन्। ब्राजिल, जर्मनी, आइभेरी कोस्ट र साउदी अरेबिया समूह ‘डी’ मा छन्। टोकियो ओलम्पिकमा १६ टोलीको सहभागिता रहनेछ। आयोजकले १६ टोलीलाई चार समूहमा विभाजन गरेको छ र प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।  

प्रकाशित: ३ श्रावण २०७८ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App