२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस अवार्डः लाईफटाईम अचिभमेन्ट अवार्ड रञ्जितलाई

पोखरा रंगशालामा शुक्रबार पाचौं पोखरा स्पोर्टस् अवार्ड

पोखरा स्पोर्टस अवार्डबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन । तस्बिर ः उमेश पुन÷नागरिक

पोखरा स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालामा हुने पाचौं पोखरा स्पोर्टस् अवार्डकोको तयारी पूरा भएको हो । गत वैशाखमै गर्ने भनिएको अवार्ड कोभिड–१९ को संक्रमण बढेर निषेधाज्ञा लागु हुँदा रोकिएको थियो ।  स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि स्वास्थ्य मापदण्ड कायम गर्दै सेमी भर्चुअल रुपमा अवार्ड गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा पत्रकार भेटघाट गरेर जानकारी दिएको हो ।

आयोजकले अघिल्लो र यस वर्ष गरेर २ वर्षको अवार्ड एकैपटक गर्न लागेको जनाएको छ । अघिल्लो वर्षपनि लकडाउनका कारण अवार्ड वितरण रोकिएको थियो । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले अघिल्लो वर्ष पनि अवार्ड नगरेकाले दुईवर्षको अवार्ड एकैपटक गर्न थालेको बताए । उनले गण्डकी प्रदेश र खेलकुदको पहिचान सहितको अवार्डसमेत सार्वजनिक गरे ।  

मञ्चले यस वर्ष विभिन्न ७ विधामा अवार्ड वितरण गर्ने जनाएको छ । मञ्चका अनुसार यसवर्ष अघिल्लो वर्षहरुमा जस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिनेछ ।  

अवार्डका लागि मञ्चले ४ विधामा ३–३ जनाको दरले नोमिनेसन सार्वजनिक गरिसकेको छ । यस वर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष विधामा नवीन रसाइली (कराँते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) मनोनयनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडी विधामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) नोमिनेसनमा परेका छन् ।

पोखरा स्पोर्टस अवार्डको वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) परेका छन् । त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा परेका छन् ।

मञ्चले यस वर्ष उत्कृष्ट खेल संघतर्फ आर्चरी संघलाई अवार्ड वितरण गर्ने जनाएको छ । वार्षिक रुपमा संघले गरेका खेलकुदका गतिविधि, खेल पूर्वाधार निर्माण लगायतमा उत्कृष्ट कार्य गर्नेलाई आधार बनाएर मञ्चले उत्कृष्ट खेल संघ छनौट गरेर अवार्ड वितरण गर्ने गरेको छ । मञ्चले यस वर्ष वर्ष उत्कृष्ट खेल पत्रकार विधातर्फ भने दुईजना पत्रकारलाई अवार्ड प्रदान गर्ने जनाएको छ । अघिल्लो वर्ष र यस वर्ष गरेर २ वर्ष भएकाले दुईजना पत्रकारलाई अवार्ड वितरण गर्न लागिएको मञ्चका महासचिव बिजय नेपालले बताए ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाले सम्मान गर्ने जनाएको छ । त्यस्तै, वर्ष खेलाडी पुरुष र महिलालाई जनही २ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला रहेको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकारलाई भने जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्लाले सम्मान गर्नेछ ।

लाईफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

मञ्चले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलर केशव रञ्जित (आनन्द)लाई सम्मान गर्ने भएको छ । झन्डै पाँचदशक अवधि फुटबलमा बिताएका उनी फुटबलका पूर्व राष्ट्रिय टिमका सदस्य हुन् । २०३८ सालमा फुटबलको राष्ट्रिय टिममा परेका उनले २०३१ सालदेखि २०४५ सालसम्म झण्डै डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हालेका थिए । उनको नेतृत्वमा गण्डकीले तत्कालिन समयमा प्रतिष्ठत कप नर ट्रफी उचालेको थियो ।

रञ्जितले महेन्द्र पुलिस क्लव, न्यूरोड टिम (एनआरटी)लगायतबाट पनि खेलेका थिए । उनी सन २००३ सालमा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाईल्याण्ड गएका थिए ।

प्रकाशित: १६ असार २०७८ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App