२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ग्वार्डिओला वर्ष प्रशिक्षक

इङ्ल्यान्ड म्यानेजर्स एसोसिएसनले सोमबार म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्ष प्रशिक्षकको अवार्ड प्रदान गरेको छ।  म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि दिलाएका प्रशिक्षक ग्वार्डिओलालाई म्यानेजर्स एसोसिएसनले वर्ष प्रशिक्षक घोषणा गरेको हो। चार वर्षको अन्तरालमा सिटीले तेस्रो पटक प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको छ। 

यस्तै सिटीले लिग कपको पनि उपाधि उचाल्न सफल भएको थियो। यसै साताको अन्तिममा च्याम्पियन सिटीले युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि अर्को प्रिमियर लिग क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दै छ। पोर्तोमा हुने फाइनल खेलमा म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखका पूर्वप्रशिक्षक समेत रहेका ग्वार्डिओलाले पाँच अन्य क्लबका प्रशिक्षकलाई पछि पार्दै उपाधि जितेका हुन्। ग्वार्डिओलाले लिड्स युनाइटेडका मार्सेलो वियल्सा, नर्विचका ड्यानियल फार्के, चेल्सी महिला टोलीका प्रशिक्षक इमाम हेयस, वेस्ट ह्यामका डेभिड मोइस र लेस्टर सिटीका ब्रेन्डन रोजर्सलाई पछि पारेका हुन्।

‘प्रशिक्षक एसोसिएसनले प्रदान गर्ने वर्ष प्रशिक्षक अवार्डको विजेता हुन पाउँदा खुसी लागेको छ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘मेरा लागि यो अवार्ड निकै ठूलो हो। प्रशिक्षणको कदर गरिएको यो अवार्डबाट म निकै खुसी छु। मेरो लागि यो स्पेसल हो, किनभने मेरा समकक्षीले मलाई विश्वासको मत दिनुभएको छ।’

उत्कृष्ट भएका ग्वार्डिओला २०१६ मा प्रिमियर लिग क्लब सिटीमा अनुबन्धित भएका थिए। चार वर्षभित्र नै उत्कृष्ट लयमा देखिएका ग्वार्डिओलाले खेलाडीको समर्पण र व्यावसायिक खेल प्रदर्शनबाट सफलता प्राप्त गरेको प्रतिक्रिया दिए। ‘मेरा खेलाडीले खेलअवधिभर मलाई विश्वास गर्दै खेल्दा क्लबका लागि राम्रो नतिजा आयो,’ कोरोना भाइरसका कारण महामारीकै बीचमा आमा गुमाएका ५० वर्षीय ग्वार्डिओलाले भने, ‘यस्तै काम गर्ने दौरानमा मलाई सहयोग गर्ने सहकर्मी साथीको साथले सम्भव भएको छ। सिटीजस्तो विश्वको चर्चित क्लबसँग जोडिएर काम गर्न पाउँदा निकै खुसी छु। त्यसैले मलाई प्रदान गरिएको अवार्ड उनीहरूलाई अर्पण गर्न चाहन्छु।’  

उत्कृष्ट प्रशिक्षक घोषित भएका ग्वार्डिओलालाई म्यानेजर्स एसोसिएसनका प्रमुख रहेका म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले मुक्तकण्ठले प्रशंसा गरे। ‘कुनै हिचकिचाहटबिना उनी उत्कृष्ट प्रशिक्षक चुनिएका छन्। सिटीलाई सफलताको बाटोमा पुर्‍याउने प्रशिक्षक साँच्चै अवार्डका हकदार हुन्,’ म्यानेजर्स एसोसिएसनका प्रमुख रहेका फर्गुसनले भने, ‘सधैँ शालीन स्वभावका धनी ग्वार्डिओलामा सकारात्मक भाव धेरै छ। उनकै सफलतामा परिवार पनि खुसी भएको हो।’ सिटीले सम्पन्न प्रिमियर लिगको सिजनमा ८६ अंक बटुल्दै च्याम्पियन बन्न सफल भयो। लिगका ३८ खेल खेल्दा सिटीले २७ खेलमा स्पष्ट जित निकाल्दा ५ खेल बराबरी र ६ खेल गुमाउन पुगेको थियो। 

प्रकाशित: १२ जेष्ठ २०७८ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App