८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

एकदिवसीय खेल: न्युजिल्यान्डलाई शृंखला

घरेलु टोली न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। कप्तान टम लाथमको अविजित १ सय १० रनको प्रेरणाबाट न्युजिल्यान्डले दोस्रो एकदिवसीय खेलमा जित निकाल्दै शृंखला आफ्नो बनाएको हो।

क्राइस्टचर्चमा २ सय ७२ रनको लक्ष्य न्युजिल्यान्डले ४८.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो। पाहुना टोली बंगलादेशले लगातार खराब फिल्डिङ गरेपछि न्युजिल्यान्ड अन्तिम खेलअगावै शृंखला आफ्नो बनाउन सफल भयो। शतक प्रहार गर्दै अविजित इनिङ खेलेका लाथमले पनि दुई पटक जीवनदान पाएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको क्षतिमा २ सय ७१ रन बनाएको थियो।

यद्यपि, तमिम इकबालको कप्तानीमा रहेको बंगलादेशले न्युजिल्यान्डको भूमिमा उक्त लक्ष्य जोगाउन सकेन। ‘हामीले धेरै अवसर सिर्जना गरेका थियौं, तर त्यसलाई सदुपयोग गर्न सकेनौं। जसका कारण हार बेहोर्नुपर्‍यो,’ तमिमले भने, ‘यो स्थिति सामना गर्नुको अर्थ हामीले हरेक क्षेत्रमा शतप्रतिशत प्रदर्शन गर्नुपर्ने देखिएको छ।’ 

पाहुना टोलीका लागि ७८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। मोहम्मद मिथुनले ५७ बलमा नटआउट ७३ रनको योगदान दिएका थिए। यता लाथमले १ सय ८ बलमा १ सय १० रन बनाउँदै करियरको पाँचौं शतक पूरा गरेका थिए। डेभोन कनवेले ७२ रनको योगदान दिँदै घरेलु टोलीको इनिङ उकासे।  

पहिलो एकदिवसीयमा १ सय ३१ रनमै समेटिएपछि बंगलादेशका कप्तान तमिमले आफ्ना खेलाडीले प्रदर्शन सुधार गर्नुपर्ने आवश्यकता औंल्याए, जुन खेलमा न्युजिल्यान्डले आठ विकेटको रबाफिलो जित निकालेको थियो। दोस्रो खेलमा पनि ओपनर लिटन दास खाता नखोल्दै दोस्रो ओभरमा आउट भएपछि बंगलादेशको खराब संकेत थियो। 

त्यसपछि तमिमले सौम्य सरकारले ८१ रनको साझेदारी गर्दै बंगलादेशको इनिङ उकासे। यद्यपि, सौम्य ३२ रनमै आउट भए। दुई पटक अम्पायर रिभ्युबाट बचेका तमिमले ८४ बलमा ५०औं अर्धशतक पूरा गरे। एक छेउबाट मिथुनले पनि करियरकै उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेश राम्रो योगफलतर्फ अग्रसर भएको थियो।

बंगलादेशले अन्तिम १० ओभरमा १ सय ८३ र बनाउँदै आफ्नो स्लो रनरेटमा पनि सुधार गरेको थियो। जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डको सुरुआत पनि राम्रो हुन सकेन। उसले आफ्नो ओपनर मार्टिन गप्टिललाई २० रनमै गुमाएको थियो। बंगलादेशका स्पिनर मेहदी हसनले दुई विकेट लिँदा किफायती बलिङ गर्दै न्युजिल्यान्डको रनको गति कम गर्ने प्रयास गरेका थिए। 

३४ ओभरमा केनवे पवेलियन फर्फेपछि न्युजिल्यान्ड १६६–४ को स्थितिमा रहँदा बंगलादेशसामु घरेलु टोलीमाथि दबाब सिर्जना गर्ने अवसर भए पनि सदुपयोग गर्न सकेन। लगातार खराब फिल्डिङको सामना गरेपछि न्युजिल्यान्डले फाइदा उठाउँदै जितसहित शृंखला पनि आफ्नो बनायो।

प्रकाशित: ११ चैत्र २०७७ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App