२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकपमा एक विदेशीसहित ८ टिम भिड्ने

आयोजक सहारा क्लवले पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराउँदै । तस्बिर: उमेश पुन/नागरिक

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा यसवर्ष एकविदेशी सहित ८ टिमले सहभागिता जनाउने भएका छन् । सहारा क्लव पोखराको आयोजनामा यहि चैत २१ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा हुने आहा–रारा गोल्डकप फुटबलको यो १९ औं संस्करण हो ।  

यसअघि प्रतियोगिता चैत १७ गतेदेखि २८ गतेसम्म हुने भनिएपनि सहभागि टिमको संख्या घटेपछि प्रतियोगिताको अवधी घटाउँदै चैत २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिता तय गरिएको हो । यसअघिका प्रतियोगितामा १२ टिम सहभागि हुँदै आएका दथिए । तर यसवर्ष विश्वव्यापी कोरोना भाइरस महामारी असरका कारण चारवटा घट्दा सहभागि टिम र प्रतियोगिता अवधि घटेको आयोजक सहारा क्लवले जनाएको छ ।

प्रतियोगितामा यसवर्ष डिफेण्डिङ च्याम्पियन मनाङमस्र्याङ्दी क्लवसहित गतवर्षको उपविजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लव, मच्छिन्द्र, आयोजक सहारा क्लव र क्यामरुनको डउलास्थित अफ्रिकन रुट एशोसिएसन सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले पत्रकार भेटघाटमा जानकारी दिए । क्यारुनी टिम अफ्रिकन रुट एशोसिएसनले सहभागिताका लागि टिम दर्ता गराइसकेको उनले बताए । क्यामरुनी त्यहाँको अब्बल टिम भएको उनको दाबी छ । 

१० दिनसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा स्वास्थ्य सचेतता अपनाउँदै खेल खेलाइने सहारा क्लवले जनाएको छ । कोरोना संक्रमणको जोखिम कम गर्दै प्रतियोगिता गर्न एन्फाले अनुमति दिए अनुसार दर्शक तथा पाहुनालाई एकसिटको अन्तरमा बस्नका लागि सिट उपलब्ध गराईने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उनका अनुसार यस वर्ष प्यारापिटको क्षमता भन्दा आधा मात्र दर्शक राखेर प्रतियोगिता गरिनेछ ।

प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कारको राशी यथावत राखिएको छ । कोरोना महामारीका कारण पुरस्कार राशी घट्ने अनुमान गरिएपनि आयोजक सहाराले प्रतियोगिताको विजेता, उपविजेतासहित विभिन्न विधाका पुरस्कारको राशी यथावत राखेको जनाएको हो । क्लवका अध्यक्ष थापाका अनुसार विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिनेछ भने प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिने क्लवका अध्यक्ष थापाले जानकारी दिए ।प्रतियोगिताको अवसरमा सहारा क्लवले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एकजना खेलाडीलाई नगद ३५ हजार रुपैयाँसहित दोशल्ला र ताम्रपत्र प्रदान गरेर सम्मान गर्ने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गरेर २७ लाख २० हजार रुपैयाँ बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित: २९ फाल्गुन २०७७ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App