४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

मेयर कप किक्रेट: पुलिस शीर्ष स्थानमा बस्दै फाइनलमा

नेपाल पुलिस क्लब काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले काठमाडौं मेयर ११ माथि १ सय ३ रनको जितका साथ प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

पुलिस र मेयर ११ सहित बाग्मती प्रदेश, एपिएफ तथा त्रिभुवन आर्मी क्लब गरी कुल ५ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन्। यस्तोमा ४ खेलमा ३ जितका साथ ६ अंक जोडेको पुलिसले शीर्ष स्थानमा बस्दै फाइनल पुगेको हो। ३ खेलमा ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ भने आर्मी, बाग्मती र मेयर ११ तीन खेलमा समान २ अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचाैं स्थानमा छन्।

एपिएफले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा मेयर ११ माथि जित हात पार्न आवश्यक छ। एपिएफले मेयर ११ लाई नतिजा सुम्पिएमा रनरेटका आधारमा आर्मी र बाग्मती प्रदेशको फाइनल प्रवेश सम्भावना जीवित रहनेछ। पुलिसले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको मेयर ११ ले ३१.२ ओभरमा मात्र ९४ रन जोड्न सक्यो।

मेयर ११ का कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन जोड्दा कष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रनको योगदान गरे। मेयर ११ का ७ खेलाडीले दोहोरो अंक छुन सकेनन्। ७ रन जोड्दा मेयर ११ ले ओपनर हरिशंकर शाहलाई पहिलो विकेटका रूपमा गुमाएको थियो। थप ५ रन जोड्दा ओपनर खडक बोहोरा पनि सस्तोमा पवेलियन फर्किएका थिए। 

त्यसपछि ब्याटिङका लागि आएका रवीन्द्र शाही, सन्दीप रजाइली र सौरभ खनालले पनि उल्लेख्य प्रदर्शन गर्न नसक्दा सन्दीपको टोली ३३–५ को स्थितिमा पुगेको थियो। छैटाैं विकेटका लागि कृष्ण र सन्दीपले ३५ रनको साझेदारी गर्दै मेयर ११ को इनिङ अघि बढाउने प्रयास गरेका थिए। ६८ रनको अवस्थामा कृष्ण र सन्दीप पवेलियन फर्किएपछि मेयर ११ पुनः संकटमा परेको थियो। 

कृष्णले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा सन्दीपले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै सिद्धान्तले ३५ बलमा ३ चौका प्रहार गरे। पुलिसका पवन सर्राफले ४, दीपेन्द्रसिंह ऐरीले ३, ललित राजवंशीले २ र सागर ढकालले १ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो।  

पुलिसका योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रनको योगदान गरेका थिए। योगेन्द्रले ५५ बलमा ४ चौका प्रहार गरे। ओपनर सुनील धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५६ रनको साझेदारीका साथ पुलिसलाई गतिलो सुरुआत दिलाएका थिए। सुनीलले २४ बलमा २ चौका र १ छक्का मद्दतमा २२ रन प्रहार गर्दा कुशलले २९ बलमा ३ चौका र ३ छक्का मद्दतमा ३४ रनको योगदान गरेका थिए। कप्तान दीपेन्द्रले २४ र पवनले २८ रनको योगदान गरे। मेयर ११ का सन्दीप, विपिन खत्री र हरिशंकर शाहले समान ३ विकेट लिएका थिए।

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App