८ वैशाख २०८१ शनिबार
खेल

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

नुवाकोटका मोहन गुरुङ र चितवनका सुरज गुरुङ वीर गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

सोही तौलसमूहमा काभ्रेका धमेन्द्र राई र तारकेश्वरका सुरज ओलीले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन्। धर्मेन्द्रले रसुवाका अभिषेक राई र सुरजले भक्तपुरका राकेश राजलवटलाई पराजित गरे। पुरुषकै ५२ केजीमा काभ्रेका रोशन मलिक, रसुवाका यानव राई, सिन्धुलीका डेभिड तामाङ, बक्समान्डुका वाङ्दी शेर्पा, चन्डोलका रमन अली, बोसिगाउँका महेन्द्रविक्रम ठकुरी र बक्समान्डुका सुरज महर्जनले पनि अन्तिम आठमा स्थान बनाए।

महिलातर्फ प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ४८ केजी तौलसमूहमा तेजीमायाले चितवनकी कल्पना रावल र जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई  हराउँदै अन्तिम आठमा स्थान बनाए। सोही तौलमा बोसिगाउँकी माया क्षत्रीले रसुवाकी रोनिता सिंहलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन्।

यही समूहको अर्को खेलमा नुवाकोटकी प्रगति थापाले काभ्रेकी रोशनी लावतीलाई पराजित गरिन्। महिला ५१ केजी तौलसमूहमा नुवाकोटकी प्रतिभा शाहीले बक्समान्डुकी सपना तामाङ र प्लाटिनियमकी केनिका राईले रामेछापकी रोजिना रञ्जितलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

प्रतियोगिताका हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रूपैयाँ पुरस्कार प्राप्त गर्दा उत्कृष्ट महिला बक्सरले स्कुटर र पुरुष बक्सरले मोटरसाइकल पाउनेछन्। प्रतियोगिताको बुधबार पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए।  

सागका पदकविजेता सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलका पदकविजेता खेलाडी बुधबार सम्मानित भएका छन्। वीर गणेशमान सिंह स्मृति बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदकविजेता खेलाडीलाई सम्मान गरिएको हो।

 काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदकविजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।  

कार्यक्रममा स्वर्ण विजेतालाई १० हजार, रजत विजेतालाई सात हजार र कांस्य विजेतालाई जनही पाँच हजार रूपैयाँबाट सम्मान गरिएको थियो। २०७६ मंसिरमा नेपालमै सम्पन्न १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो।

प्रकाशित: २० फाल्गुन २०७७ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App