२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार हुँदै

पोखरा म्याराथनबारे जानकारी गराउँदै आयोजक । तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आगामि शनिबार पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो ।  

आयोजकले विहीबार पत्रकार भेटघाट गरेर तयारी पुरा भएको जनाएको हो । प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा हुने गरेको प्रतियोगिता यसवर्ष कोरोना भाइरस संक्रमणका कारण चरणबद्ध रुपमा गर्ने तयारी गरिएको छ । पहिलो चरणमा फागुन १ गते प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन प्रतियोगिता हुने आयोजकले बताएको छ ।  

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिता अन्तर्गत यस वर्ष ४२.१९५ किलोमिटर म्याराथन र महिला २१ किलोमिटरको हाफ म्याराथन आगामि शनिबार हुनेछ । म्याराथनमा ४ देशका १५६ जना धावक दौडिने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल, जापान, वेलायत र उरुग्वेका खेलाडी प्रतियोगितामा दौडिनेछन् ।  

विदेशी धावक भएपनि उनीहरु नेपालमै बस्दै आएको मञ्च निकट पदाधिकारीले बताएका छन् । प्रतियोगितामा नेपालका १२ जिल्लाका खेलाडी दौडिने मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले जानकारी दिए । उनका अनुसार बागलुङ, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, कालिकोट, रुपन्देही, दाङ, पाल्पा, स्याङ्जा, धनकुटा र ताप्लेजुङका खेलाडीले नाम दर्ता गराएका छन् । त्यस्तै, विभागीय नेपाल प्रहरी र नेपाली सेनाका धावकले पनि दौडिनका लागि नाम दर्ता गराएका छन् ।

महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथनमा ६ जिल्ला र विभागीय टोलीका धावकहरुले दौडिनका लागि नाम दर्ता गराएका छन् । जस अनुसार महिला हाफ म्याराथनका लागि गोरखा, जुम्ला, कास्की, प्युठान, दार्चुला, बागलुङ तथा विभागीय नेपाली सेना र नेपाल प्रहरीका धावकहरुले नाम दर्ता गराएका छन् । हाफ म्याराथनका लागि भारतीय १ महिलाले नाम दर्ता गरेपनि निश्चित भइनसकेको पाठकले बताए ।

खुल्ला १० किलोमिटर महिला तथा पुरुष प्रतियोगिता चैत १४ गते शनिबार हुनेछ भने ५ किलोमिटर छात्र तथा छात्रा, अपांगता भएकाका लागि महिला तथा पुरुष ह्विलचियर प्रतियोगिता र दृष्टिविहिन एकसय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता बैशाख ४ गते शनिबार हुने मञ्चले जनाएको छ ।

अघिल्लो संस्करणमा हरेक पटक हुँदै आएको ‘रन फर फन’ इभेन्ट भने यसपटक स्थगित गरिएको छ । सहभागिलाई उर्जा थप्न आयोजना गरिदै आएको रन फर फन यस पटक कोरोना जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

मञ्चका अध्यक्ष गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एकदिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आयोजकको उद्देश्य रहेको बताए ।  

म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै चौथो हुनेले सान्त्वना रुवरुप नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाटले जानकारी दिए ।

त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँच किलोमिटर छात्र–छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयले क्रमशः १०, ७ र  ४ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ह्विलचियर पुरुष–महिला र १ सय मिटर दृष्टिविहीन महिला तथा पुरुष दौडमा प्रथम, दोश्रो र तेश्रोले क्रमशः ७, ५ र ३ हजार रुपैयाँ पुरस्कार पाउने रानाभाटले जानकारी दिए ।

प्रकाशित: २९ माघ २०७७ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App