२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फेब्रुअरी ८ बाट अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता फेब्रुअरी ८ बाट सुरु हुने भएको छ। यसअघि सिजनकै पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन २०२१ जनवरी १८ देखि ३१ सम्म आयोजना हुने खेल तालिका सार्वजनिक भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता तीन साता पछि सरेको हो।  

प्रतियोगितामा सहभागी खेलाडीहरू जनवरी १५ सम्ममा मेलबर्न आइसक्नेछन् र त्यहाँ उनीहरू अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।  

कोरोना भाइरसकै कारण गत वर्ष विम्बल्डन रद्द भएको थियो। दोस्रो विश्वयुद्धपछि विम्बल्डन रोकिएको यो नै पहिलो पटक थियो। त्यस्तै फ्रेन्च ओपन पनि निर्धारित समयभन्दा परका लागि धकेलिएको थियो भने युएस ओपन बन्द कोर्टमा खेलाइएको थियो। मेलबर्नमा भने दर्शकलाई खेल हेर्न अनुमति दिइने अनुमान गरिएको छ। मेलबर्नमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि अक्टोवरमा एक महिना लकडाउन गरिएको थियो। टेनिस अस्ट्रेलिया र मेलबर्न सरकारबीचको छलफलपछि प्रतियोगिताको नयाँ मिति फेब्रुअरी ८ देखि २८ सम्मका लागि तय भएको हो।

एटिपीले ग्रान्ड स्लामका लागि पुरुष छनोट खेल जनवरी १० देखि १३ सम्म दोहामा हुने बताएको छ। त्यस्तै १२ टोली सहभागी हुने एटिपी कप ,एडिलेड इन्टरनेसनल र एटिपी २५० प्रतियोगिता फेब्रुअरी ८ अघि नै सम्पन्न हुनेछन्। यता डब्लुटिएले महिला खेलाडीको छनोट खेल कहिले हुने भन्ने प्रस्ट पारेको छैन। ‘हामीले चुनौतीबीच प्रतियोगिता गर्नुपर्नेछ। त्यसैले सबै सरोकार पक्षबीचको सहमतिमा प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको हो। यसले विशेष अर्थ राख्छ, किनभने अहिले परिस्थिति सामान्य छ,’ एटिपीका प्रमुख आन्द्रिया ग्वाडेन्जीले भने, ‘हामी स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्छौं।’ एएफपी

प्रकाशित: ३ पुस २०७७ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App