२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

क्यान साधारण सभा स्थगित

नेपाल क्रिकेट संघ (क्यान) को भदौ दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभा स्थगित भएको छ । मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो । साधारण सभा स्थगित हुनुमा क्यानले कोरोनालाई कारण देखाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित भएको जानकारी दिए । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारण सभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारण सभाको मिति आइसिसीसँगको समन्वय र सहज वातावरणपछि तय गर्ने सचिव प्याकुरेलले जानकारी दिए ।  

‘विश्व र नेपालमा देखिएको कोरोना महामारीका कारण साधारण सभा स्थगित गरिएको हो । क्यान फुकुवा भएपछिको यो पहिलो साधारण सभा हो । छलफलका धेरै विषय छन्,’ क्यान सचिव प्याकुरेलले भने, ‘आइसिसीका प्रतिनिधि पनि यो साधारण सभामा आवश्यक पर्ने हुन्छ । त्यसैले आगामी साधारण सभा महामारीको अवस्था सहज नभएसम्म कठिन छ ।’ यस्तै मंगलबार नै क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बिमा गरेको छ । यसअघि नै पुरुष टोलीको बिमा गरेको थियो । मंगलबार नै जारी भएको विज्ञप्तिमार्फत १८ महिला खेलाडीको कोरोना बिमा गरिएको जनाएको हो ।

प्रकाशित: १० भाद्र २०७७ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App