४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याउखेती गदै विद्यार्थी

कक्षा ९ मा अध्ययनरत विद्यार्थीले विद्यालयको कोठामा फलाएको च्याउ टिप्दै विद्यार्थी । तस्किर : टंक / नागरिक

सर्लाही - सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत महादेव जनता नमूना माविमा कक्षा ९ मा अध्ययनरत छात्रा रिसिका कार्की केही दिनअघि च्याउ टिपिरहेकी थिइन्। विद्यालय हाताभित्रै रहेको अँध्यारो कोठामा रहेको प्लान्टमा आफैंले फलाएको च्याउ धमाधम टिपेर प्याकिङ गरिरहेकी थिइन्, कार्की।

अब त म आफ्नै घरमा पनि च्याउखेती गर्न सक्ने भएकी छु, कार्कीले भनिन्, ‘किताब पढ्ने अनि कापीमा लेख्ने मात्र पढ्नु हो भन्ने लाग्थ्यो, तर अब त यस्तो प्रयोगात्मक पढाइले हामीलाई व्यवहारिक रुपमै दक्ष बनाएको छ।’कार्की जस्तै कक्षा ९ मा बाली विज्ञान विषय लिएर अध्ययनरत ४० विद्यार्थी अहिले उक्त विद्यालयमा च्याउ अनि फूलकोबी लगायत तरकारी खेती गरिरहेका छन्। किताबकापी च्यापेर घरबाट आउने विद्यार्थी सैद्धान्तिक कक्षा लिएपछि हरेक दिन विद्यालय हाताभित्रै रहेको तरकारी उत्पादन गर्ने टनेल अनि च्याउ उमार्ने कोठामा विभिन्न गतिविधि गरिरहेका भेटिन्छन्।

कार्कीसँगै च्याउ टिपिरहेकी अस्मिता स्याङ्तानले पनि प्रयोगात्मक पढाइले आफूहरुलाई ठूलो टेवा पुगेको भन्दै खुसी प्रकट गरिन्। ‘अब त शैक्षिक योग्यता भएर पनि काम पाइदैन भन्ने डर भएन,’ स्याङ्तानले भनिन्, ‘अन्त कतै काम पाइएन भने घरमै तरकारी खेती गरेर आम्दानी गर्न सक्छु भन्ने होप बढेको छ। सैद्धान्तिकसँगै प्रयोगात्मक अध्यापनका क्रममा विद्यालयमै निर्माण गरिएको टनेलमा फूलकोबी खेती एवं एक कोठामा च्याउ खेती गरिएको बाली विज्ञान विषयकी प्रशिक्षक नविना गहतराजले जानकारी दिइन्। ‘प्रयोगात्मक अध्यापनअन्तर्गत विद्यार्थीले पहिलो लटमै ३५ किलो च्याउ उत्पादन गरिसके, गहतराजले भनिन्, ‘सिकाइकै क्रममा पहिलो लटमा फलेको च्याउसमेत व्यावसायिक खेती गरेसरह उत्पादन भएको छ।

महिना दिनअघि सुरु गरिएको च्याउ खेतीअन्तर्गत एकलट उत्पादन भएर बिक्रीसमेत गरिसकिएको र क्रमशः उत्पादनको तयारीमा रहेको उक्त विषयकी सहायक प्रशिक्षक बसन्ती पाण्डेले जानकारी दिइन्। विद्यार्थीले उत्पादन गरेको च्याउ विद्यालयमै राखिएको काउन्टरबाट प्रतिकेजी एक सय ५० रुपैयाँमा स्थानीयलाई बिक्री गरिएको शिक्षक राजन कार्कीले बताए। त्यस्तै विद्यार्थीले टनेलमा फूलकोबी खेतीसमेत गरिरहेका छन्। कोबीले पनि धमाधम फल हाल्न थालेको छ। अब क्रमशः विद्यार्थीको सकृय सहभागितामा काँक्रोलगायत अन्य जातका बेमौसमी तरकारी खेतीसमेत सुरु गरिने प्रशिक्षक गहतराजले जानकारी दिइन्। गहतराजका अनुसार विद्यार्थीले समेत अत्यन्त चाख लिएर तरकारी खेतीमा सहभागी हुने गरेका छन्।

विद्यालयले चालू शैक्षिक सत्रबाट बाली विज्ञान विषय थप गरेर सैद्धान्तिक मात्र हैन प्रयोगात्मक अध्यापन सुरु गरेको प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए। हामीले शिक्षा विभागबाट २६ लाख रुपैयाँ अनुदान समेत पाएका छौं,’ प्रअ सिंहले भने, ‘उक्त रकममध्ये १६ लाखको प्रयोगात्मक सामग्री खरिद तथा १० लाख रुपैयाँले ल्याब निर्माण प्रकृया सुरु भइसकेको छ।’ विद्यालयबाट औपचारिक शिक्षा लिएका विद्यार्थी मात्र हैन व्यवहारिक सीपयुक्त दक्ष जनशक्तिसमेत उत्पादन गर्ने उद्देश्यले बाली विज्ञान विषय अध्यापन सुरु गरिएको प्रअ सिंहको कथन छ।

प्रकाशित: २१ माघ २०७६ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App