४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

‘उद्घाटनमा प्रस्तुती दिँदा हर्षित हुनैछौं’

काठमाडौं - त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आइतबारबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद(साग) का लागि रंगशाला शृङ्गारिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले उद्घाटन समारोह हुन दुई दिन बाँकी रहँदा ‘ग्रान्ड रिहल्सल’ साँझ ५ बजेबाट सुरु गरेको थियो। जसका लागि सहभागिहरू केही दिन यता लगातार रंगशालामा मार्चपास र झाकीलगायत प्रस्तुतीसहित अन्तिम तयारीमा जुटेका थिए। साँझमा रंगशालाभित्र रिहल्सल भैरहँदा बाहिर भने नेपालको विभिन्न सँस्कृती झल्काउने पोशाकमा भिन्नभिन्न समूहमा सहभागीले आफ्नो तयारी गरिरहेका थिए।

सहभागी मध्येका थिए, प्रशिद्ध मोडल स्कुलका कक्षा ९ मा अध्ययनरत पाँच छात्रा (सुष्टी रिजाल, आयुसी खनाल, पुष्पा तामाङ, दीपा थापामगर र रसिना बस्नेत)को समूह। जो पञ्चबुद्ध नाचका लागि सजिएका थिए। उनीहरू उद्घोषकले आफ्नो नाम लिनुअघि लामबद्ध भएर बसेका थिए। सोही समूहको नेतृत्व गरिरहेकी रसना महर्जन। उनी आफ्नो समूहका विद्याथीहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिइरहेकी थिइन।

‘मलाई यो सागको १३औं संस्करण भन्ने चाही थाहा छ, तर यसमा कुनकुन खेल समावेश गरिएको छ भन्नेबारे भने केही थाहा छैन, ‘९ कक्षामा अध्ययनरत सृष्टी रिजालले भनिन्, ‘म पहिलोपटक दशरथ रंगशाला प्रवेश गरेकी हुँ। साग खेलकुदको साक्षी बन्न पाउँदा निकै उत्साही छु।’ यता आयुसीको अनुभव पनि सृष्टीको जस्तै छ।

उनी पनि पहिलोपटक रंगशालामा आएकी रहेछिन्। ‘मलाई साग खेलकुद नेपालबाटै सुरु भएको भन्ने मात्र थाहा छ, ’आयुसीले भनिन्, ‘यस पटकको संस्करण नेपालमा आयोजना हुन लागेको तेस्रो पटक हो भन्ने सुनेको छु।’ घरेलु मैदानमा हुने साग उद्घाटनको दिन नेपाली कला सस्कृँती झल्कने प्रस्तुती देखाउन पाउँदा निकै उत्साही रहेको सहभागीको भनाई थियो।

त्यस्तै सुदूरपश्चिमको हुर्केली नाचको तयारी गरिरहेका रिब्स स्कुलका छात्रहरू पनि पहिलोपटक रंगशाला प्रवेश गर्न पाउँदा, खेलकुदको उद्घाटन हेर्न र अझ त्यसमा आफ्नो प्रस्तुती दिन पाउँदा उत्साही भएको प्रतिक्रिया दिए। ‘मैले दशरथ रंगशालामा कुनै पनि खेल हेरेको छैन,’रिब्स स्कुलमा कक्षा ७ मा अध्ययनरत सञ्जिव राईले भने, ‘मलाई फुटबल निकै मनपर्छ। उद्घाटनको दिन नेपालको फुटबल हुने भन्ने सुनेको थिएँ। सो खेल हेर्न पाउँछु भनेर उत्साही थिएँ। तर, सो खेल दोस्रो दिनका लागि सारिएको रहेछ। म टिकट काटेरै नेपालको खेल हेर्न फेरि रंगशाला आउँछु।

नेपालमा तेस्रोपटक आयोजना हुने लागेको सागको १३औं संस्करण मंसिर २४ गतेसम्म चल्नेछ। यद्यपि, भलिबलतर्फ दुवै स्पर्धा(महिला/पुरुष)तर्फका खेल भने गत बुधबारबाटै सुरु भैसकेको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App