७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

स्वर्णभूमि हुँदै सिड्नी

अञ्चित ढुंगाना
म यतिबेला थाइल्याण्डको सुवर्णभूमि (स्वर्णभूमि) एयरपोर्टमा छु। मेरा १२ जना साथी साथमा छन्। हामीलाई लालाबाला टिमले अस्ट्रेलिया लैजाने क्रममा थाइल्याण्ड ट्रान्जिट परेको हो। हाम्रो टोलीलाई म पढ्ने स्कुल काठमाडौं प्रज्ञाकुञ्जकी प्रिन्सिपल सुनिता पौडेल, लालाबालाका संस्थापक एवं नाटक निर्देशक टंक चौलागाई र अस्ट्रेलियाको गलबर्नमा हामीले देखाउन लागेको ‘उज्यालोतिर’ नाटकका निर्देशक प्रकेश सिन्धुलीयले नेतृत्व गर्नुभएको छ।

काठमाडौंबाट मध्याह्न २.१० मा थाइ एयरवेजबाट हामी थाइल्याण्डको सदरमुकाम बैंकक आइपुगेका हौं। बैंकक र काठमाडौं बीच एक घन्टा २० मिनेट समय फरक पर्ने रहेछ। बैंकक आइपुग्दा यो हिसाबले नेपालमा ६ बजेर ३० मिनेट भएको थियो। गत असारको दोस्रो साता सुवर्णभूमि एयरपोर्ट पुग्दा यो मेरो तेस्रो अन्तर्राष्ट्रिय एयरपोर्ट टेकेको छु। पहिलो अन्तर्राष्ट्रिय विमानस्थल थियो, अबुधावी इन्टरनेशनल एयरपोर्ट। अघिल्लो वर्ष २०७५ चैतमा पनि हामी आबुधावी पुग्दा एयरपोर्टबाट बाहिर निस्केर सहर घुम्न पाएनौं। मेरो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल थियो आबुधावी हुँदै युरोपको बेलारुसस्थित मिन्स्क एयरपोर्ट।  तर तीन ओटामध्ये मलाई स्वर्णभूमि एयरपोर्ट नै राम्रो लाग्यो।

आबुधावीमा १३ घन्टा ट्रान्जिटका लागि समय पाइयो। त्यसैले टंक सरले त्यो समयमा आबुधावी सहर घुम्ने भने पनि बाहिर जाने मौका मिलेन। हामी ११ जना एरोटेलको सानो रुममा कुचुक्क परेर सुतेका थियौं। स्वर्णभूमि टेक्दा पनि मलाई आबुधावीको त्यही कोप्चे कोठाको याद आयो। तर स्वर्णभूमिमा १ घण्टा मात्र ट्रान्जिट थियो। बेलारुसको एयरपोर्टको टर्मिनल भने अति पुरानो थियो। तर बाहिर निस्कने ठाउँ भने आधुनिक पाराको थियो। स्वर्णभूमि एयरपोर्टचाहिँ बाहिरबाटै देख्दा भव्य लाग्यो। बाहिरबाट देखिने यसको डिजाइन फरक र आकर्षक थियो। भित्र त झनै रङ्गीचङ्गी दुनियाँमा पुगेजस्तो भयो। मान्छेको भीडभाड देख्दा एयरपोर्टभित्रै मेला लाग्दो रहेछ जस्तो लाग्यो।

थाइल्याण्डमा ११ वटा इन्टरनेशनल एयरपोर्ट रहेछन्। गुगल सर्च गरिहालें सुवर्णभूमि, डोन मुएङ, चिआङ माई, मे फा लुङ्ग चिआङ राई, ह्याट याई, फुकेत, सामुई, क्राबी, सुरत थानी, उ त पाओ र उडोन थानी एयरपोर्ट रहेछन्। गुगलले ४७ ओटा नेशनल एयरपोर्ट देखायो। नेपालजस्तै एसियाकै अर्को देश थाइल्याण्डमा ५८ ओटा एयरपोर्ट ? मैले नेपाल सम्झें, जहाँ जम्मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यही एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट म थाइल्याण्ड आइपुगेको छु। दुई वर्षअघि बाबा र मामु थाइल्याण्ड आउँदा सुवर्णभूमिमै ल्यान्ड गरेको र बैंकक घुमेपछि सिंगापुर जाँदा डोन मुएङ इन्टरनेशनल एयरपोर्ट पुगेको कुरा बताउनुभएको थियो।

नेपालमा लुम्बिनी, निजगढ र पोखरामा अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बन्दै छन्, तिनमा सरकारले केही राम्रो बनाउला। तर काठमाडौंको एयरपोर्ट त विदेशको जस्तो सुविधा–सम्पन्न, भव्य र आधुनिक  कहिले होला र ? हामी जसरी विदेशी पनि नेपालको त्यो एयरपोर्ट देखेर कहिले मक्ख पर्न पाउलान्। रमाइलो लागेको कुरा, एयरपोर्टभित्रको संसार बेग्लै। कति भव्य। कति खर्च गर्न सकेको होला सरकारले पनि।

म धेरैतिर सम्झन पुगेछु। साथीहरू भने यताउता गर्दै रमाइरहेका थिए। सुवर्णभूमि भनेको ‘सुनको भूमि’ भन्ने अर्थ लाग्दो रहेछ। जुन सन् २००६ मा डोमेस्टिक एयरपोर्टको रूपमा सुरु भएको रहेछ।  इन्टरनेशनल एयरपोर्ट १३ दिनमै बनाएको रहेछ। यो धेरै ठूलो रहेछ। यसको क्षेत्रफल ८ हजार एकड रहेछ। सन् २०१९ को तथ्याङ्क हेर्दा विश्वका उत्कृष्ट १०० एयरपोर्टमध्ये सुवर्णभूमि ४६ नम्बरमा पर्ने रहेछ। यो कुरा गुगलमा देखेपछि म झनै खुसी भएँ।

१ नंम्बरमा थाइल्याण्डकै छिमेकी देश सिंगापुरको चाङ्गी एयरपोर्ट रहेछ। जहाँ बाबामामु पुगिसक्नु भएको थियो। कल्पना गरें, विश्वको नं. १ एयरपोर्ट पुग्दा कस्तो होला ? नपुगे पनि एउटा गर्व लाग्यो, चाङ्गी एयरपोर्ट एसियामै रहेछ। अनि हामी पनि एसिया महादेशमै बस्छौं। एक घण्टाको ट्रान्जिट भए पनि हामीलाई समय बितेको पत्तै भएन। हामी अस्ट्रेलियाको सिड्नी उड्ने तयारीमा लाग्यौं। एयरपोर्ट मजाले  घुम्न नपाउँदा सबै कुरा देख्न र बुझ्न पाएनौं।

हामी एसिया महादेशबाट अर्को महादेश अस्टे«लिया जाँदै थियौं। अबको प्लेनको यात्रा कम्तीमा ९ घन्टाको हुँदै थियो। कक्षा सातमा पढ्दा पहिलो विदेश यात्रा बेलारुस भएको थियो मेरो। यसअघि सबैभन्दा लामो फ्लाइट आबुधावीबाट बेलारुसको मिन्स्कको करिब ६ घण्टाको यात्रा थियो चारतारे इतिहाद एयरवेजमा। सिड्नी जाँदा तीनतारे थाई एयरवेजबाट यात्रा गर्न लागेका छौं। अस्ट्रेलियाको समय नेपालभन्दा ५ घण्टा १५ मिनेट फरक छ। अस्ट्रेलिया घुम्न पाउने कुराले फुरुङ्ङ हुँदै हामी प्लेनभित्र पस्यौं।

सम्झनायोग्य नौ घन्टाको उडाइ कस्तो होला ? हामी चढेको प्लेन विश्वकै दोस्रो ठूलो प्यासेन्जर विमान बोइङ ७४६ भएको गुगल सर्चमा देखाएकाले उत्साह थपियो। म ५ वर्ष हुँदादेखि मलाई पाइलट बन्ने इच्छा लागेको थियो। मैले थाहा पाएको थिएँ, एयरबस ए ३८० विश्वको सबैभन्दा ठूलो प्यासेन्जर प्लेन हो। योभन्दा अगाडि काठमाडौंबाट आबुधावी उड्दा ए ३२० को न्यारो बडी चढेको मलाई वाइडबडी नै ठूलो कुरा थियो। तर आज म विश्वकै दोस्रो ठूलो प्यासेन्जर प्लेनमा ९÷९ घण्टाको उडान भर्दै छु। मेरा लागि यो निकै ठूलो कुरा थियो।

इम्युनिटी किट सिटमा थियो। मैले त्यो मेरो सिटमा मात्र देखें, जुन मैले चुपचाप राखें। मेरो पहिलो लामो र रातको उडान अनि ठूलो प्लेन तीन ओटा कुरा एकै पटक भएर पनि यात्रा यादगार भयो। म फ्लाइटभरि निदाउनै सकिनँ। मलाई त्यो प्लेन पूरै घुम्न मन थियो तर के गर्नु म इकोनोमी क्लासबाट बिजनेस क्लाससम्म पनि जान सकिनँ, अप्ठेरो भयो। के भन्दै जानू ? विदेशीले केही नदेखेको भन्लान् भन्ने डरले चुपचाप बसें। मन त मलाई ककपिट हेर्न पनि थियो।

म बेलाबेला क्याबिन गएर ओरेन्ज जुस वा कफी खाने गर्थें। कहिले मल्टी प्लेयर मोडमा प्लेनकै मोनिटरमा गेम खेल्न मिल्ने भएकाले साथीसँग गेम खेलें। हामी राति टिभी हेरेर समय बिताउन थाल्यौं। हाम्रो यात्रा लामो थियो। थुप्रै देश हुँदै गयौं होला तर रातको समय र धेरै उचाइको उडान भएकाले केही थाहा भएन। समुद्रहरू पनि तरियो होला तर आँखाले देखेन। झपक्क निदाएछु। एक्कासि घाम आँखामै लाग्दा बिहान भएको थाहा पाएँ।

फोटो खिच्न मन लागेर मोबाइल निकालें। ब्याट्री सकिएको रहेछ। गेम खेल्दा कतिबेर चलाएँ ब्याट्री हेरिनछु। सिट अगाडिको मोनिटरमा हेर्दा अस्ट्रेलियाको पाँच बजेको रहेछ। हाम्रो फ्लाइट ल्यान्ड हुन अझै डेढ घन्टा बाँकी थियो। हाम्रो प्लेन सिड्नीको किङफोर्ड स्मिथ एयरपोर्टमा ल्यान्ड भयो। मलाई अब सिड्नीको किङफोर्ड र त्यो देश (महादेश) का सबै एयरपोर्टसँगै विकास लगायत सबै कुरा जान्ने हतारो भयो। १३ दिने अस्ट्रेलियाको सेड्युलमा न्यू साउथ वेल्सको गल्बर्न र मेलबर्नसम्म घुम्ने, नाटक र सर्कस सिक्ने अनि नाटक देखाउनु पर्ने थियो।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App