२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुदमय चाडपर्व

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा होलेसुङ–जनकराज राई मार्ग गोल्डकप जारी छ। दशैं र तिहारको अवसरमा साकेला फुटबल क्लबले आयोजना गरेको गोल्डकपले विभिन्न जिल्लाका २२ टोलीको खेलाडीलाई उतारेको थियो। दशैंतिहार मनाउनेक्रममा गाउँघरमा भित्रिएका स्थानीयलाई समेत बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानको वरपर दर्शकका रूपमा जमघट गराइरहेको छ।

शुक्रबारसम्म सञ्चालन भएको फुटबल हेर्नका लागि खेलमैदानमा दुर्छिम, च्यास्मीटार, हलेसी, मंगलटार, बडहरे, बाहुनीडाँडा लगायतका ठाउँका स्थानीय प्रतियोगितास्थल आइपुगेका थिए। फुटबल हेर्न बिहान पुगेका दर्शक साँझ परेपछि घर फर्किए। दशैंतिहारकै अवसरमा साकेला गाउँपालिकाले मपारुङ अन्तरपालिका फुटबल प्रतियोगीता सञ्चालन गरेको थियो।

साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा शुक्रबारदेखि मंगलबारसम्म सञ्चालन गरिएको प्रतियोगितामा खोटेहाङ गाउँपालिका (बी) ले उपाधि चुम्यो। खोटेहाङ गाउँपालिका (बी) ले २ गोल गर्दा कुनै पनि गोल गर्न नसकेपछि साकेला गाउँपालिका (बी)ले उपविजेतामै चिक्त बुझायो। प्रतिस्पर्धी खोटेहाङ गाउँपालिका (ए) ले वाकओभर दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गर्ने अवसर पाएको आयोजकले जनायो।

सो प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः १ लाख, ६० हजार र ३५ हजार रुपैयाँका साथमा कप प्राप्त गरेका छन्। दशैं तिहारकै अवसर पारेर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन भयो। आइतबारदेखि मंगलबारसम्म केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा पनि वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भए। सो प्रतियोगितामा केपीलासगढी गाउँपालिका–६ दिप्सुङले दोस्रो र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा तेस्रो स्थान प्राप्त ग¥यो।

दशैं तिहारको सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा साना तथा ठूला राशिका फुटबल र भलिबल प्रतियोगिता सञ्चालन भइरहेका छन्। दशैं तिहारले ल्याएको जमघट र उमंगसँगै खेलकुद गतिविधिले थप रौनक बढाएको छ। दशैंतिहारमा जमघट हुने भएकाले जिल्लामा अधिकांश खेलकुद गतिविधि यही अवसरमा हुने गरेको पाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राईले बताए।

स्थानीय एफएममा गाउँगाउँमा खेलकुद प्रतियोगिता हुन लागेको भन्दै सहभागिताका लागि सूचना प्रसारण भइरहेका सुनिन्छन्। वर्ष दिनसम्म सुनसान रहने खेलमैदानमा दशैंतिहार लागेपछि रौनक सुरु हुन्छ। यो मौसम आउटडोर फुटबल, भलिबल र कराते लगायतका खेलका लागि उपयुक्त भएकाले पनि आयोजकले दशैं तिहारको आसपासमा प्रतियोगिता सञ्चालन गर्नेगर्छन्।

यस बाहेक दशैं र तिहार मनाउनका लागि देशविदेशबाट पनि गाउँ फर्किने भएकाले पनि आयोजकले सोही मौका छोप्ने गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए। ‘गाउँमा जमघट बाक्लो हुने र सबै फुर्सदिलो हुने भएकाले पनि दशैंतिहार खेलकुदमय बन्ने गरेको हो,’ अध्यक्ष राईले भने,‘समय खेर फाल्नुभन्दा पनि साथीभाईसँग भेटघाट गर्ने र रमाइलोका लागि टोलटोलमा समेत खेलकुद गतिविधि हुने गरेको छ। जुवातास खेलेर बस्नुभन्दा यो कैयौं गुणा राम्रो हो।’

अहिले तिहारका लागि ढकमक्क फुलेका सयपत्री, मखमलीलगायत पूmलले गाउँ ढाकेको छ। करेसाबारी, बारीका डिलमा फुलेको फूलले मन लोभ्याइरहेको छ। सहर वा परदेशमा बसिरहेका माइतीचेली तिहार मान्नका लागि गाउँ आएका छन्। दशैंतिहारको याम अन्नबाली लगाइसकेको र भित्र्याउने बेला नभएकोले र सबैको फुर्सद हुने भएकाले पनि खेलकुदको आयोजना हुने गरेको हो। बाक्लो जमघटकाबीचमा सञ्चालन हुने प्रतियोगिताले स्थानीयको व्यवसाय प्रवद्र्धनमा समेत योगदान पु¥याइरहेको छ।

चाडपर्व सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा साना र ठूला राशिका फुटबल र भलिबल प्रतियोगिता सञ्चालन भइरहेका छन्। दशैंतिहारले ल्याएको जमघट र उमङ्गसँगै खेलकुद गतिविधिले थप रौनक बढाएको छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App