२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

रमेश मिस्टर काठमाडौं

काठमाडौं – नेपाल आर्मीका रमेश कार्कीले शनिबार राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार कमलादीस्थित प्र्रज्ञा प्रतिष्ठानमा सम्पन्न विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीचको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भए।

रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए। उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारे।
उपाधिसँगै रमेशले १ लाख ५० हजार नगद पुरस्कार पाए। आफ्नो तौलसमूहमा पहिलो भएबापत रमेशले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारे। हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए।

महिला एथलेटिक्स फिजिक्समा टोटल फिट्नेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मूल गुठी दोस्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेस्रो भए। जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिट्नेसका किशोर कार्की दोस्रो र द व्यायमशालाका ऋतिक घिमिरे तेस्रो बने।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा क्रमशः शीर्ष तीन स्थानमा रहे।

सोही स्पर्धाको १ सय ७० सेन्टिमिटरमाथि जिमखानाका धीरज घर्तीले स्वर्ण, सेप्स टुका गिरिराज रोकाले रजत र बडी ग्यारेजका युवक खानले कांस्य जिते। यी चार स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ५ हजारका दरले नगद पुरस्कार पाए।

विजेतालाई सांसद कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा १ सय ३६ खेलाडी सहभागी थिए।

प्रकाशित: २२ भाद्र २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App