९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

मुख्यमन्त्री लिग : घरेलु टोली खोटाङसँग स्तब्ध

उदयपुर– उदयपुरमा जारी मुख्यमन्त्री लिग फुटबलमा घरेलु टिम उदयपुर ११ पराजित भएपछि प्रतियोगिताको शीर्षस्थान उक्लने मौका गुमेको छ। बुधबार सम्पन्न खेलमा खोटाङसँग १–० ले पराजित भएसँगै उदपुरलाई शीर्ष स्थान उक्लने मौका गुमेको हो। 

खेलको पहिलो हाफमै पेनाल्टीको सुन्दर मौका पाएको उदयपुरले गोल गर्न चुक्नु नै शीर्षस्थान बनाउने सुनौलो मौका चुकाउनु परेको हो। खेलको २४ औं मिनटमै खोटाङका जीवन परियारले उदपुरका समीराज राउतलाई डीबक्समा लडाएपछि रेफ्री लक्ष्मण जयसवालले परियारलाई पहेँलो कार्ड देखाउँदै उदयपुरलाई पेनाल्टीको मौका दिएका थिए। तर, राउतले पेनाल्टीको मौकालाई गोलमा परिणत गर्न सकेनन्। यसअघि उनले गोल गरे पनि खेलाडी मैदान छिरेको भन्दै विपक्षीले विरोध गरेपछि त्यो गोल रद्ध गर्दै अर्को पेनाल्टी सुट गर्न लगाउँदा राउत चुकेका हुन्। 

मध्यान्तरपछिको खेलमा ६५ औं मिनटमा खोटाङका शैलेन्द्र बजिमयले गरेको गोल नै खोटाङले आफ्नो जित सावित गर्दै उदयपुरको ३ अंक खोस्न सफल भयो। राउतको पेनाल्टी सुटलाई कब्जा गर्न सफल खोटाङका गोलकिपर किरण राई दोस्रो खेलको म्यान अफ द म्याच घोषित भए। उनलाई त्रियुगा नगर प्रमुख बलदेव चौधरीले ५ हजार नगद पुरस्कार प्रदान गरे। समान खेल र समान प्रहार भए पनि खोटाङ दोस्रो स्थानमा छ भने मोरङ पहिलो छ। उदयपुर बुधबारकै खेलको हारपछि तेस्रोमा झरेको छ। 

बुधबारै भएको पहिलो खेलमा ओखलढुंगाले सोलुलाई ३–१ ले पराजित गरेको छ। लगातार २ खेलमा हार बेहोर्ने सोलु शून्य मार्कसहित अन्तिम स्थानमा पुगेको छ। खेल सुरु भएको १० औं मिनटमा ओखलढुंगाका अर्विन राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। ३९ आँैंं मिनटमा सोलुका अमिर केसीको गोलले खेललाई बराबरी बनाइदियो। तर, अन्तिम मिनेटमा सोलुका खेलाडी सम्हालिन नसक्दा निर्धारित ८० औं मिनटमा राजु राईले अर्को गोल थपे भने इन्जुरी समयमा पनि उनकै पेनाल्टी प्रहार गोलमा परिणत भएपछि ओखलढुंगा ३ गोलका साथ जित्न सफल भएको हो। 

उदयपुरमा जारी प्रतियोगिता अवधिभर सोलु मात्र अंक जोड्न नसक्ने समूह सावित भएको छ। सोलुलाई जित्ने ओखलढुंगाले ३ मार्कसहित चौथो स्थान लिन सफल भएको छ। समान ३ मार्क भए पनि गोलान्तरमा उदयपुर ओखलढुंगाभन्दा माथि छ।

प्रकाशित: १८ असार २०७६ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App