५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘मलेसियाविरुद्धको खेल टोली निर्माणका लागि महत्त्वपूर्ण’

क्वालालाम्पुर– नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल २०२२ को कतार विश्वकप छनोट चरणका लागि टोली निर्माण गर्न राम्रो माध्यम भएको प्रतिक्रिया दिएका छन्।

नेपालले आइतबार बुकिट जालिल राष्ट्रिय रंगशालामा पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ। नेपाली टोलीले सेप्टेम्बरमा विश्वकपको छनोट खेल खेल्दै छ। एसियाली राष्ट्रहरूमध्ये विश्व वरीयतामा ३४औं स्थानमा रहेपछि नेपालले पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्ने अवसर पाएको हो।

कालिनले मलेसिया फिफा वरीयतामा नेपालभन्दा तल रहे पनि आफूहरू घरेलु टोलीलाई कमजोर रूपमा नलिने बताएका हुन्। फिफा वरीयतामा नेपाल १ सय ६१औं स्थानमा छ भने मलेसिया १ सय ६८औं स्थानमा।

‘हामीले जितको भावनासहित टोलीमा उल्लेख्य सुधार गर्न आवश्यक छ,’ जनवरी १७ मा २ वर्षका लागि राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका कालिनले भने, ‘मैले यसअघि पनि नेपालमा फुटबल प्रशिक्षकका रूपमा काम गरिसकेको छु। त्यसैले मलाई राम्रो ज्ञान छ। अहिलेको हाम्रो आवश्यकता नतिजामा केन्द्रित हुनुभन्दा पनि सन्तुलित टोली निर्माण गर्नु हो। यसका लागि केही समय लाग्न सक्छ। मलेसियाविरुद्धको खेल कठिन हुनेछ।’

‘म मलेसियाको फिफा वरीयता देखेर आश्चर्यमा परेको छु,’ कालिनले थपे, ‘किनभने यहाँको लिग व्यवस्थित छ र मलेसियाले सधैं राम्रो फुटबल खेल्दै आएको छ। खेलाडी पनि राम्रा छन्। पक्कै पनि सबै टोलीले सबै खेलमा जितको विकल्पको बारेमा सोच्दैनन्। तर मेरो मुख्य प्राथमिकता जितहारमा केन्द्रित हुनुभन्दा पनि राम्रो टोली निर्माण गर्नु हो।

कालिनको प्रशिक्षणमा नेपालले यसअघि २ मैत्रीपूर्ण खेल खेले पनि जितको खाता भने खोल्न सकेको छैन। नेपालले कतारविरुद्ध नतिजा सुम्पिएको थियो भने कुवेतसँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै नेपालले मलेसियाविरुद्ध पनि राम्रो नतिजा ल्याउन असफल रहँदै आएको छ। नेपालले १९८३ सेप्टेम्बरयता मलेसियाविरुद्ध ६ खेल खेलेकोमा कुनै पनि खेलमा सुखद नतिजा ल्याउन सकेको छैन। यस क्रममा टोलीले मलेसियासँग २१ गोल खाएको छ भने गोल खाता खोल्न सकेको छैन।

‘हामी धेरैभन्दा धेरै मैत्रीपूर्ण खेल खेल्न चाहन्छाैं। जुन टोली निर्माणका लागि आवश्यक छ,’ कालिनले भने, ‘टोलीमा केही नयाँ अनुहार छन्। हामीले एकै साथ मात्र २ खेल खेलेका छाैं र हामीले अझै लामो यात्रा पक्का गर्न बाँकी छ। हाम्रो ध्यान विश्वकप छनोटमा केन्द्रित छ।’

यता मलेसियाका प्रशिक्षक टेन चेङ होइले नेपालविरुद्धको मैत्रीपूर्ण खेल लिस्टे टिमोरविरुद्ध हुने विश्वकप छनोटका लागि राम्रो अभ्यास हुने बताएका छन्।

‘हामीले खराब मौसमका कारण नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पर्याप्त तयारी गर्न सकेनाैं,’ होइले भने, ‘तर अहिले मौसममा सुधार आएको छ। त्यसैले नेपालविरुद्धको खेल लिस्ट टिमोरविरुद्धको खेलअघि राम्रो अभ्यास खेल बन्नेमा म आशावादी छु। नेपाल उच्च मनोबल भएको टोली हो। मैले नेपालको खेल भिडियोमा हेरेको थिएँ। नेपालको टोली सन्तुलित छ। नेपाली टोली शारीरिक र रणनीतिक रूपमा बलियो छ।’

नेपालले जुन ६ मा हुने दोस्रो मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईको सामना गर्नेछ।

नेपाली टोलीले सेप्टेम्बरमा विश्वकपको छनोट खेल खेल्दै छ। एसियाली राष्ट्रहरूमध्ये विश्व वरीयतामा ३४औं स्थानमा रहेपछि नेपालले पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्ने अवसर पाएको हो।

 

 

प्रकाशित: १९ जेष्ठ २०७६ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App