३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कपमा प्रदेश नं २ को पहिलो जित

काठमाडाैं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश २ ले कर्णालीलाई नौ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो। यसअघि खेलेको पहिलो खेलमा प्रदेश २ आर्मीसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य पच्छ्याएको प्रदेश २ ले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो। उसका लागि हरिशङ्कर शाहले सर्वाधिक ५५ रन बनाए। ६४ बल खेलेको उनले सात चौका प्रहार गर्दै अविजित रहे। त्यस्तै हसिम अन्सारीले १७ तथा रवि शाहले अविजित १६ रन जोडे। कर्णालीका लागि प्रकाश जैशीले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटिएको थियो। कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रवीन्द्र शाहीले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन्। प्रदेश नं २ का कुमार थापा एक्लै ३ विकेट लिए भने रशिद खान, शम्शद शेख र हरिशङ्कर शाहले समान दुई दुई विकेट लिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। रासस

प्रकाशित: १५ जेष्ठ २०७६ ०९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App