काठमाडौँ– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१ रनले पराजित गर्दै विजयी भएको हो।
जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएकाे प्रदेश ३ निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटियो। प्रदेश ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए। त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन्। एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए। पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो। उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले। सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए। यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए। प्रदेश नं ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन/तीन विकेट लिए।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रकाशित: ११ जेष्ठ २०७६ १३:११ शनिबार