५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आरसिटीलाई चौतारा साँगाचोकगढी कप

सिन्धुपाल्चोक– रानीपोखरी कर्नर टिम (आरसिटी)ले तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  विभागीय क्लब त्रिभुवन आर्मीविरुद्ध ०–१ गोलको कठिन जित निकाल्दै आरसिटीले उपाधि रक्षा गरेको हो। ट्रफीसँगै आरसिटीले पाँच लाख पाँच हजार रुपैयाँ नगद पुरस्कार हात पा¥यो। उपविजेता आर्मीले दुई लाख पाँच हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो। 

चौताराको टुँडिखेलमा बिहीबार भएको फाइनलमा आरसिटीको जितका लागि अजित तामाङले गोल गरे। खेलको ३३ औँ मिनेटमा उनले गरेको गोल नै जितका लागि निर्णायक बन्यो। फितलो सुरुवात गरेको आर्मी एक गोलले पछाडि परेपछि खेल अवधिभर दबाबमा रह्यो। मध्यान्तरपछि खेलमा सुधार ल्याउँदै बलमा पक्कड जमाए पनि गोल गर्न सकेन। रक्षात्मक खेलेका आरसिटीका खेलाडी आर्मीको आक्रमणमा निरन्तर बाधक बनिरहे। 

खेलको अन्तिम १७ मिनेट आर्मी १० खेलाडीमा समेटियो। ७३ औँ मिनेटमा रातो कार्ड दर्शन गर्दै आर्मीका दीप लामा मैदानबाट बाहिरिए। विपक्षी खेलाडीसँग झगडा गरेपछि खेल रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए। आरसिटीका विदेशी खेलाडी साहिद खेलको म्यान अफ द म्याच चुनिए। उनले तीन हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाए।

उपाधि रक्षा गर्ने क्रममा निर्णायक गोल गरेका आरसिटीका अजित गुरुङले प्रतियोगितामा दुईटा व्यक्तिगत उपाधि जिते। सर्वाधिक गोलकर्तासँगै उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। उनले जारी प्रतियोगितामा दुई गोल गरेका थिए। उनले २० हजारका दरले ४० हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए। नवोदित खेलाडीको उपाधि जितेका चौतारा युथ क्लबका सञ्जय विष्टले नगद १० हजार रुपैयाँ पुरस्कार पाए। 

विजेता टोली तथा खेलाडीलाई पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरे। चौतारा साँगाचोकगढी नगरपालिका तथा सामाजिक विकास मन्त्रालय (प्रदेश–३)को आर्थिक सहयोग र तोप–२१ को आयोजनामा साता चलेको प्रतियोगितामा ए, बी डिभिजनका क्लबसहित १२ टोलीले भाग लिएका थिए।

प्रकाशित: २८ चैत्र २०७५ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App