५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सशस्त्र प्रहरी बल सेमीफाइनलमा

सिन्धुपाल्चोक– गोलरक्षक रोमन रसाईँलीको म्यान अफ द म्याच प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बलले तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कपको सेमीफाइलनमा स्थान बनाएको छ।

चौताराको टुँडिखेलमा आइतबार भएको अन्तिम क्वाटर फाइनलमा बी डिभिजन क्लब क्षेमादेवी प्लानिङ ब्याइज पेप्सीकोलालाई ०–१ ले स्तब्ध पार्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो। प्रतिस्पर्धात्मक खेलमा सशस्त्रका महेश लामाले गरेको एक मात्र गोल नै निर्णाय बन्यो। 

दुबै टिमले फितलो प्रदर्शन सुरुवात गरेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको सुरुदेखि नै सुधारिएको प्रदर्शन गर्दै बलमा पक्कड जमाएको सशस्त्रले गोलको खाता खोल्न खेलको ५० औँ मिनेटसम्म कुर्नु प¥यो। विपक्षी गोलरक्षक डिबक्समा आएको बल रोक्न अघि बढ्दा सशस्त्रका महेशले चार खेलाडीलाई छक्याउँदै खाली पोष्टमा सुन्दर गोल गरे। 

एक गोलले पछाडि परेपछि दबाबमा आएको क्षमादेवीले केही समय खेलमा लय गुमाउन पुग्यो। उसले मध्यान्तरअघिको खेललाई निरन्तरता दिन सकेन। गोलका लागि क्षेमादेवीका खेलाडीले गरेको पटक–पटकको प्रयासमा सशस्त्रका गोलरक्षक रोमन निरन्तर बाधक बनिरहे। विदेशी खेलाडी फोफानाले अन्तिम १० मिनेटभित्र प्रहार गरेको तीनवटा कडा प्रहार पोलमा लागेर फर्कँदा क्षेमादेवी अभाग्यमानी ठहरियो। म्यान अफ द म्याच रोमनले नगद तीन हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए। 

योसँगै पाँच दिनदेखि जारी सिन्धु खेलकुद इतिहासमै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको सेमिफाइलन समिकरण पूरा भएको छ। यसअघि ए डिभिजन क्लब रानीपोखरी कर्नर टीम (आरसिटी), त्रिभुवन आर्मी र भगवती युवा क्लब टोखाले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। पहिलो सेमिफाइनल खेलमा सोमबार आरसिटी र भगवतीबीच प्रतिस्पर्धा हुँदा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी र आर्मी फाइनल प्रवेशका लागि भिड्ने छन्। 

चौतारा साँगाचोकगढी नगरपालिका र तीन नं. प्रदेश सरकारको आर्थिक सहयोगमा तोप–२१ द्धारा आयोजित प्रतियोगिताको उपाधि भिडन्त बिहीबार हुने छ। प्रतियोगिताको बिजेताले पाँच लाख पाँच हजार र उपबिजेताले दुई लाख पाँच हजार नगद पुरस्कार पाउने छन्।

प्रकाशित: २४ चैत्र २०७५ १४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App