काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लब भुटानमा जारी जिङ्मे दोर्जी वाङ्चुक मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा पहिलो हाफमा नै १० खेलाडीमा सीमित बनेको आर्मी घरेलु टोली पारो फुटबल क्लबसँग १–० को झीनो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
नेपाली राष्ट्रिय यु–१९ टोलीका कप्तान अर्पण कार्की रहेको टोली पारोलाई जित दिलाउन दिवस सुब्बाले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए।
आर्मीका कप्तान भरत खवासले २७औं र ३२औं मिनेटमा पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिँदा आर्मी संकटमा पुगेको थियो। जुन आर्मीका लागि महँगो साबित भयो।
सोझै क्वार्टरफाइनलबाट प्रतियोगिताको सुरुआत गरेको आर्मीले शुक्रबार भएको खेलमा थिम्पु सिटीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। विजयी पारोले अब उपाधिका लागि नेपालको रुस्लान थ्री स्टार र भारतको युनाइटेड ब्रदर्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: ८ फाल्गुन २०७५ ००:०३ बुधबार