काठमाडौं – दुई गोलको अग्रता जोगाउन नसक्दा बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार टुसाल युवा क्लबसँग अंक बाँडेको छ।
सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको दिनको पहिलो खेलमा सुरुआती १४औं मिनेटभित्र बनाएको २–० को अग्रता जोगाउन नसक्दा बाँसबारीले टुसालसँग अंक बाँडेको हो। ११औं मिनेटमा अनुज भण्डारीको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो।
त्यसको तीन मिनेटपछि नै पाएको पेनाल्टी अवसर सदुपयोग गर्दै सुजन लिम्बुले बाँसबारीको अग्रता दोब्बर बनाए। २४औं मिनेटमा टुसालका युवराज ढकालले गोल फर्काउँदै आफ्नो टोलीलाई २–१ को स्थितिमा ल्याए। त्यो गोलसँगै बाँसबारीले पहिलो हाफमा २–१ को अग्रता नै जोगाइराख्यो। तर, खेलको इन्जुरी समयमा समालिन नसकेपछि बाँसबारीले लगातार दोस्रो जित निकाल्नबाट चुक्यो।
९१औं मिनेटमा मनीष सेढार्इंको गोलमार्पmत टुसालले २–२ को बराबरी गरेको थियो। टुसालले पहिलो खेलमा श्रीभगवतीलाई हराएको थियो भने बाँसबारीले भने पुलचोक स्पोर्ट्ससँग हार बेहोरेको थियो। यससँगै समान दुई खेलमा टुसालले ४ अंक र बाँसबारीले एक अंक बटुले। मंगलबारकै अर्को खेलमा झम्सीखेल युवा क्लब र नयाँबस्ती युवा क्लबले गोलरहित बराबरी खेले।
यसअघि झम्सीखेलले पहिलो खेलमा ब्वाइज युनियन क्लबमाथि १–० को जित निकालेको थियो। नयाँबस्तीले भने रानीपोखरी कर्नर टिम(आरसिटी)सँग ३–१ को हार बेहोरेको थियो। यससँगै समान दुई खेलमा झम्सीखेलले ४ र नयाँबस्तीले एक अंक बटुले।
प्रकाशित: १ फाल्गुन २०७५ ०२:२३ बुधबार