काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ। नेपालले युएईलाई सोमबार ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ। आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसँग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो।
नेपालले नेदरल्याण्ड्सविरुद्धको २ खेलको सिरिजसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो। सो सिरिज एक–एकको बराबरीमा सकिएको थियो। नेपालले गत मार्चमा भएको विश्वकप छनोटबाट ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो।
वरियताको पहिलोदेखि १० औं स्थानमा क्रमश, इङ्ल्याण्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन्। त्यस्तै जिम्बावे ११, आयरल्याण्ड १२, स्कटल्याण्ड १३ र युएई १४ औं स्थानमा रहेका छन्।
प्रकाशित: १५ माघ २०७५ ०६:३४ मंगलबार