काठमाडाैं – प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोटर्स ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टनको पुरुष एकलतर्फ उपाधि जितेका छन्।
प्रिन्सले मंगलबार त्रिभुवन आर्मीका प्रफुल महर्जनलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेका हुन्। प्रिन्सले दुई हप्ताभित्र लगातार तेस्रो अन्तर्राष्ट्रिय उपाधिसमेत जित्न सफल भए। उनले गत हप्ता मात्र विराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पनि यु–१९ र यु–१५ दुवै तर्फको उपाधि जितेका थिए।
स्थानीय स्तरका खेलाडीबीचको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोटर्स ग्रामका अध्यक्ष भोलेश्वर दुलाल र प्रकाश राईको जोडीले उपाधि जित्न सफल भयो। दुलाल र राईको जोडीले फाइनलमा रविचन्द्र राई र सुवास श्रेष्ठको जोडीलाई १२–२१, २१–११ र २१–१८ ले स्तब्ध बनायो।
प्रतियोगिताको मिक्स युगलमा आर्मीका रत्नजित तामाङ र अनुमाया राईको जोडीले उपाधि जित्दा फाइनलमा एपिएफका दीपेश धामी र पूजा श्रेष्ठको जोडीलाई २१–१९, २०–२२ र २१–१६ ले हरायो। भेट्रान्स युगलका धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र केबी गुरुङको जोडीलाई २१–१८ र २१–१७ ले हराउँदै उपाधि हात पार्यो।
पुरुष युगलमा एपिएफका दीपेश धामी र विजित थापामगरको जोडी र आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेका छन्। दीपेश र विजितको जोडीले आर्मीका प्रफुल र रुकेश महर्जनको जोडीलाई २१–१७ र २५–२१ ले तथा रत्नजित र नवीनको जोडीले गौतम कठायत र सुनील जोशीको जोडीलाई २१–९ र २१–१२ ले पाखा लगाएका थिए।
प्रकाशित: २ माघ २०७५ ०४:४७ बुधबार