२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

मनमोहन क्रिकेट पुसको तेस्रो साता

काठमाडौं – मनमोहन (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतिगोगिता पुसको तेस्रो सातादेखि सुनसरीको इनरुवामा सुरु हुने भएको छ।

शान्तिदीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा आगामी २१ पुसदेखि ७ माघसम्म एकदिवसीय क्रिकेट हुन लागेको हो। सोमबार त्रिपुरेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै शान्तिदीप नेपाल इनरुवा र इनरुवा नगरपालिका तथा सह–आयोजक नेपाल खेलकुद महासंघ इनरुवा कमिटीले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले एकदिवसीय मान्यता पाए पनि एकदिवसीय फरम्याटको खेल कम हुने भएकाले एकदिवसीय क्रिकेट प्रतियोगिता गर्न लागिएको कार्यक्रमका संयोजक विप्लप घोषले जानकारी दिए।

सात प्रदेश, तीन विभागीय टोली, एक विदेशी टोली र आयोजक गरी कुल १२ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। आयोजकले युपी र वेस्ट बंगालमध्ये एक क्लब सहभागी गराउने प्रयास भइरहेको जनाएको छ।

प्रतियोगिताका विजेता टोलीलाई चार लाख एक हजार, उपविजेतालाई २ लाख एक हजार र सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट बलरले २० हजार एक सय, उत्कृष्ट ब्याट्सम्यानले २० हजार एक सय, उदीयमान खेलाडीले १५ हजार  र अनुशासित टिमले  १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताका लागि कुल ७५ लाख ३५ हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ। १२ टिमलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

दुई दिवसीय खेल हुने
मनमोहन (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले नेपाली राष्ट्रिय टोलीको ब्याटिङ स्तरोन्नतिका लागि एक विस्तृत कार्ययोजना ल्याउने लागेको बताएका छन्।

‘पछिल्लो समय नेपाली क्रिकेट टोलीले राम्रो आशा जगाएको छ। बलिङमा राम्रो गरिरहे पनि ब्याटिङमा भने केही समस्या देखिएको छ। त्यसैलाई मध्यनजर गर्दै केही कार्यक्रम ल्याउन लागेका छौँ,’ सदस्यसचिव विष्टले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको दुईदिवसीय खेल गराउने हो। यद्यपि, योजनामा केही थप कार्यक्रम पनि ल्याउनेछौँ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमटाले विभिन्न उमेरसमूह, अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी र राष्ट्रिय टिम सम्मिलित खेलाडी छनोट गरेर दुई दिवसीय खेलको तयारी भइरहेको पुष्टि गरेका छन्। उनले भने, ‘चार टोली बनाएर यो खेल हुनेछ। यसै वर्ष हुने भए पनि मिति तय भएको छैन। आइसिसीको नयाँ क्यालेन्डर आएपछि मात्र हामीले मिति तय गर्नेछौँ।’

नेपालले एकदिवसीय मान्यता पाएपछि आइसिसीसँग पनि घरेलु मैदानमा केही खेल खेल्न  स्वीकृति मागिरहेको छ। घरेलु मैदानमा खेल्नेका लागि नेपालले दुई तीन राष्ट्र समक्ष प्रस्ताव राखिसकेको छ। तर, प्रशिक्षक टमाटाले आइसिसीको स्वीकृतिपछि मात्र घरेलु मैदानमा खेल तय हुने बताएका छन्।

प्रकाशित: ११ मंसिर २०७५ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App