काठमाडौं - मिलानो नेक्सस कप अन्डर–१६ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेक्सस क्रिकेट एकेडेमी र सनराइज ग्रुप जित हात पार्दै सेमिफाइनल पुगेका छन् ।
आइतबारको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले लालीगुराँस क्रिकेट एकेडेमी, झापालाई ५३ रनले पराजित ग-यो । नेक्ससका ओमप्रकाश शाह र क्रिस कार्कीले ७४ रनको साझेदारी गर्दा ओमप्रकाश शाहले ४१ रन र क्रिस कार्कीले ४० रन बनाए । टिमका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । निर्धारित २० ओभरमा १८ ओभरमै अलआउट हुँदा टोलीले १ सय १८ रन मात्र बनाउन सक्यो ।
लालीगुराँसका बलर डिकेन थापा र उज्ज्वल राजभण्डारीले समान ३ विकेट लिँदा विराज तामाङले २ र अभिषेक मेहताले १ विकेट थिए ।
१ सय १९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको लालीगुराँसले २० ओभर खेल्दै ९ विकेट गुमाएर ६५ रन मात्रै बनायो । बेन्जामिन खत्रीले १९ र मौसम कडरियाले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाएनन् ।
बलिङतर्फ नेक्ससका सुमन सुन्दासले ४, क्रिस कार्की, समीर विष्ट, विशाल केसी र विनोद विष्टले समान १/१ विकेट लिए ।
आइतबारै सम्पन्न दोस्रो खेलमा सनराइज महेन्द्रनगरले ग्रेटर हिमालयनलाई ८ विकेटले हराउँदै ग्रुप विजेता बन्यो । टस जितेर ब्याटिङ गर्न उत्रेको ग्रेटर हिमालयनका दीपक बोहोराले ३८ रन र विशाल थापाले १३ रन बनाए । टोलीले १८.३ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनायो । सनराइज महेन्द्रनगरका पारस छेत्रीले ५, सुबोध ऐरले ४ विकेट लिए ।
१ सय ७ रनको विजयलक्ष्यका साथ ब्याटिङमा उत्रेको सनराइज महेन्द्रनगरका सुबोध ऐरको ५९ र प्रवीन भट्टको २७ रनको मद्दतमा टोलीले लक्ष्य भेटायो । बिहीबार आयोजक नेक्ससले सनराइजसँग सेमिफाइनल खेल्नेछ ।
प्रकाशित: १० मंसिर २०७५ ०४:३१ सोमबार