१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

राखेप उपाध्यक्षमा पुनः तिम्सिना

दायाँबाट क्रमशः नवनियुक्त राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना,सदस्यद्वय राजेश गुरुङ र इन्दीरा निरौला शपथ ग्रहण गर्दै । तस्बिरः अनिल ठकुरी/नागरिक

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली क्रिकेटलगायत खेलक्षेत्र विवाद समाधानको बाटोतर्फ अगाडि बढेको बताएका छन्।

बुधबार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डलाई पूर्णता दिन आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले सो धारणा व्यक्त गरेका हुन् । ‘एक पक्षले मुद्दा फिर्ता लिएपछि क्यानमा रहेको विवाद पनि हल हुने संघार छ।

विवादमा रहेका विभिन्न खेल संघहरूलाई पनि समाधानको बाटोमा आउन हामीले पत्राचार गरिसकेका छौँ । त्यसैले हामी छिट्टै समृद्ध खेलकुदको बाटोमा हुनेछौँ,’ मन्त्री विश्वकर्माले भने, ‘राखेपको बोर्डले पनि पूर्णता पाएको छ । अब छिट्टै देशका महत्वाकांक्षी योजना आठौं राष्ट्रिय खेलकुद र १३औँ सागको तयारीमा तीव्रता आउनेछ।’ 

बुधबार मन्त्री विश्वकर्माले पीताम्बर तिम्सिनालाई पुनः राष्ट्रिय खेलकुद परिषद्(राखेप) को उपाध्यक्षको जिम्मेवारी दिएका थिए । उपाध्यक्ष तिम्सिनाले वि.सं २०६६ देखि ७० सम्म पहिलो कार्यकाल पूरा गरेका थिए । नवनियुक्त उपाध्यक्ष तिम्सिनाले खेलकुदमा अझै पनि विसंगति छ, यसको समाधान नै आफ्नो मुख्य लक्ष्य हुने बताए । उनले खेलकुदमा आफूले गरेका यसअघिका कार्यको मूल्याङ्कन गरी पुनः जिम्मेवारी दिएकामा सरकारलाई धन्यवाद दिए।

मन्त्रिपरिषद्ले आइतबार तिम्सिनाका साथै राष्ट्रिय महिला भलिबलकी पूर्वखेलाडी इन्दिरा निरौला र राजेश गुरुङलाई राखेप सदस्य मनोनयन गरेको थियो । राजेशले यसअघि राखेप सदस्यको जिम्मेवारी वहन गरिसकेका छन् भने इन्दिराले पहिलो पटक अवसर पाएकी हुन् । यसअघि लामाटेन्डी शेर्पाको उपाध्यक्षमा कार्यकाल सकिएपछि करिब २ महिनाभन्दा बढी सो पद रिक्त थियो।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App