काठमाडौ– सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन्। ४२ किलोमिटर दूरीको दौड किरणले ४ घन्टा ३२.३० मिनेटमा पुरा गरे।
मंगलबार भएको म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन्। सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनटमा पुरा गरे। शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १५ र १० हजार पुरस्कार पाएका छन्।
यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरे।प्रतियोगिता अन्तरगत भएको भेट्रान्सतर्फ गंगालाल तामाङ्गले पहिलो स्थान हात पारे। उनले ४२ कि.मि.को दूरी ५ घन्टा २६.५० मिनटमा पुरा गरे। भिम बहादुर गुरुङ्ग ५ घन्टा ५०.४७ मिनटका साथ दोश्रो र दावा जाङमु शेर्पा ६ घन्टा ४५ मिनटका साथ तेश्रो भए। उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार प्राप्त गरे।
म्याराथनको रुट हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भइ २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो। फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता जनाएका थिए।म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो। त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि १० लाख बजेट छुट्याइएको जानकारी दिए।
स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको छ। लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन्।
प्रकाशित: ८ कार्तिक २०७५ ०८:५५ बिहीबार